तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको पैसा हिनामिना गरी सञ्चालक फरार

बर्दिबास । अहिले सञ्चित रकम पछि काम लाग्ने आशाले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । बर्दिबास स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय दुई बर्ष देखी बन्द र सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि बचतकर्तामा छटपटी बढेको हो ।

“भोलिको दुःखको साथी हुने आशमा बचत ग¥यौं भन्ने थियो, तर सहकारीको कार्यालय र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएको छ” बर्दिबासमा सानो व्यापार गर्दै त्यसबाट भएको कमाइमा घर खर्च कटौती गरेर बचत गर्दै आउनु भएका रामकुमार श्रेष्ठले भन्नुभयो, “हामी ठगिएछौँ ,  दुई लाख रुपैयाँ बचत फिर्ता पाउनुपर्ने छ, दुई वर्षदेखि आफ्नै रकम खोज्दै हैरान छौँ ।”

श्रेष्ठजस्ता सयौँ बचतकर्ता अहिले आफ्नो रकम खोजी गरी दिन बर्दिबास सहकारी सञ्जाल, बर्दिबास नगरपालिकाको सहकारी शाखा र अरू विभिन्न निकायमा दौडी रहेका भेटिन्छन् ।

बर्दिबासमा सञ्चालित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय दुई बर्ष देखि बन्द रहेको छ । सञ्चालक बर्दिबास–१ कै बासिन्दा नीरकमल कार्की पनि सम्पर्कमा नभेटिएपछि बचतकर्ता मात्र नभएर बचत सङ्कलनकर्ता पनि अप्ठ्यारोमा परेका छन् । बितेको २०७६ चैतदेखि संस्था र सञ्चालक सम्पर्कविहीन भएको सोही संस्थामा बचत सङ्कलनकर्ता भएर काम गरेकी जानुका कुमारी तामाङ बताउनुहुन्छ ।

“दैनिक बचत रकम सङ्कलन गर्न त हामी सङ्कलक पुग्थ्यौँ” तामाङले आफूसहितका सङ्कलकको पीडा फुकाउँदै भन्नुभयो, “त्यसैले बचतकर्ताको पहिलो भनाइको चोट हामीले खेप्नु पर्छ ।” आफूले सङ्कलन गरेको नै करिब ५० लाख रुपैयाँ बचत फिर्ता दिन बाँकी रहेको तामाङ्को भनाइ छ ।

पछिल्लो पटक संस्था र सञ्चालक दुवै नभेटेपछि बचतकर्ता हारगुहार माग्दै  बर्दिबास नगर कार्यपालिकाको कार्यालय र बर्दिबास सहकारी सञ्जाल पुगेपछि यो घटना सार्वजनिक भएको हो । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले २०७४ देखि कारोबार शुरु गरेर २०७६ चैतदेखि सम्पर्क तोडेको बचतकर्ता र बचत सङ्कलक बताउँछन् ।

नगर कार्यपालिकाको कार्यालयको सहकारी शाखा र बर्दिबास सहकारी सञ्जाल दुवैले समन्वयको प्रयत्न गरे पनि संस्था सञ्चालक कार्की बचतकर्ताको रकम दिन आनाकानी गरी रहेका छन् । “बचतकर्ता र बचत सङ्कलकको गुनासो बुझ्न सञ्चालक कार्कीसँग सम्पर्क गरियो” बर्दिबास सहकारी सञ्जालका अध्यक्ष शङ्कर श्रेष्ठले भन्नुभयो, “उहाँले पटक पटक बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर पनि फिर्ता भने गर्नु भएन ।” पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्था सञ्जालमा आबद्ध नभएको र आफ्नो संस्था न्यायिक निरूपण गर्ने नभएको हुँदा नगरपालिका कार्यालय जान बचतकर्तालाई सुझाएको श्रेष्ठको भनाइ छ ।

नगर कार्यपालिका कार्यालयको सामाजिक विकास शाखाले दुई/तीन पटक सञ्चालक कार्कीलाई खोजेर समन्वयात्मक छलफल चलाए पनि समाधान भने नभएको सो शाखाकी समन्वयकर्ता प्रेमा कार्की बताउनुहुन्छ । “हामीसँगको छलफलमा सञ्चालक कार्कीले बचतकर्ताको रकम दिनपर्ने स्वीकार त गर्नुभयो” प्रेमाले भन्नुभयो, “तर रकम फिर्ता गर्न उहाँले लिनुभएको समय बराबर फेल भए ।” बचतकर्ताको रकम कार्यालयबाट गोलमाल भएको स्विकार्ने सञ्चालक  कार्कीले सो रकम फिर्ता गर्न सहमति जनाए पनि रकमको जोहो हुन नसकेको भन्दै समय लम्ब्याउने गरेका प्रेमा बताउनुहुन्छ ।

आफ्नो पासबुक सहितका कागजात सबै संस्थाको कार्यालयमा बुझाएको र अब आफूहरूसँग कुनै प्रमाण नरहेको हुँदा बचतकर्ताहरू बचत फिर्ता पाउनेमा अन्योलमा छन् ।

यसैबीच नगर कार्यपालिकाको कार्यालयको सामाजिक विकास शाखाले संस्था सञ्चालक कार्कीलाई तीन दिनभित्र बचतकर्ताको सबै हरहिसाब पेश गरेर रकम फिर्ता नगरे कारबाहीका स्थानीय प्रशासन र प्रहरी कार्यालयमा अनुरोध गरिने जनाएको छ । संस्थाले हरहिसाब नै नदेखाएपछि कति रकम िफ र्ता गर्नुपर्ने यकिन नभए पनि बचतकर्ता र सङ्कलकहरूको भनाइबाट एक करोड ५० लाखभन्दा बढी बचतकर्ताको रकम हिनामिना भएको अनुमान गरिएको शाखाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button