तपाईँ सुन्दै हुनुहुन्छः

हापुरे प्राथमिक अस्पताल सञ्चालनमा, स्थानीय खुसी

घोराही । दाङको बबई गाउँपालिकामा हापुरे प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । 
लुम्बिनी प्रदेश सरकार र बबई गाउँपालिकाको लगानीमा निर्माण भएको अस्पताल आजदेखि सञ्चालनमा आएको हो ।

अस्पतालमा मेडिकल अधिकृतको दरबन्दी रहेको छ । मेडिकल अधिकृत बिना स्वास्थ्य उपचार गर्दै आएका यस क्षेत्रका जनताका लागि बबई गाउँपालिकाले सञ्चालन गरेको अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् । 

अस्पतालमा २४ घण्टा मेडिकल अधिकृतले बिरामीहरूको स्वास्थ्य जाँच गर्ने बबई गाउँपालिकाले जनाएको छ । 

यसअघि स्वास्थ्य जाँच गर्नका लागि यस क्षेत्रका बिरामीहरूलाई तुलसीपुर, घोराही तथा नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । अस्पताल सञ्चालन भएपछि अब धेरै टाढा जानु नपर्ने स्थानीयको भनाई छ । 

अस्पताल उद्घाटनका अवसरमा सहभागी स्थानीय नारायण परियारले गाउँमै अस्पताल निर्माण गरेर स्थानीय सरकारले निकै राम्रो काम गरेको प्रतिक्रिया दिनुभयो । सबै स्थानीय सरकारले यस्तै काम गरेमा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्ने उहाँले बताउनुभयो । 

अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जनताको सेवाका लागि सधैँ तत्पर रहेको बताउनुभयो । 

हामी निर्वाचित भएर आउँदा दुई वटा स्वास्थ्य चौकी थिए, अहिले सात वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । अहिले हापुरेमा अस्पताल, हंसपुरमा १५ शय्याको अस्पताल निर्माणको चरणमा रहेको भन्दै पञ्चकुलेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको उहाँले बताउनुभयो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले जनताको सेवाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । तीन वटै तहका सरकारले काम गर्ने अधिकार संवैधानिक रुपमा प्राप्त गरेको भन्दै त्यसका लागि बबई गाउँपालिका प्रतिबद्ध भएर काम गरिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा वडा अध्यक्ष चिन्तामणि शर्मा, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्री, स्वास्थ्य शाखा प्रमुख हेमराज वलीले बोल्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button