तपाईँ सुन्दै हुनुहुन्छः

जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन रक्षा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । 

वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको लडाइमा जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । 

स्वास्थ्य सुविधाको न्यूनतम उपलब्धताका बाबजुद महामारी नियन्त्रणमा धरै हदसम्म सफल भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिडलाई पूर्ण रूपमा हराउन स्वास्थ्य सजगता पालना गर्न सबैमा आग्रह गर्नुभयो ।

थप खोप आपूर्तिका लागि अन्य देशहरूसँग संवाद र सम्झौता जारी राखेकाले खोपको आपूर्ति अब निरन्तर हुने भन्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो । 

नवनिर्मित कोभिड अस्पतालबाट जनताले पूर्ण रूपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत प्राध्यापक डा.जागेश्वर गौतमले नयाँ भवनले कोभिड-१९ विरुद्धको लडाइ जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button