२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई औजार वितरण

रेडियो नेपाल २०७८ असार १० गते १५:२५

सुर्खेत। यहाँ व्यावसायिक किसानलाई कृषि उपकरण तथा औजार वितरण गरिएको छ । लेकवेशी नगरपालिकाको दशरथपुरमा व्यावसायिक कृषकलाई मिनिटेलर हर्स पावर वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सिताकुमारी नेपालीले लेकवेशी दशरथपुरका कृषकलाई व्यावसायिक खेती गर्नका लागी मिनिटेलर प्रदान गर्नुभयो । कृषि लाई व्यावसायिक र आधुनिकीकरण गर्न प्रदेश सरकार लागेको जनाउँदै मन्त्री नेपालीले अनुदानलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानी बढाइ आत्मनिर्भर बन्न कृषकलाई उहाँले आग्रह गर्नुभयो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७७÷७८ को वार्षिक विकास कार्यक्रमअनुसार प्रदेशसभाका सदस्यको प्रत्यक्ष निगरानी हुने गरी दलित अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत कृषि औजार वितरण गरिएको कृषि विकास निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको ७५ प्रतिशत र समुदायको २५ प्रतिशत लगानी हुने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट दशरथपुरमा सात हर्स पावरका १३ मिनि टेलर, एक रोटाभेटर तथा रु ५० हजार बराबरको तरकारीको बीउ वितरण गरिएको प्रमुख रोकायाले जानकारी दिनुभयो ।

निर्देशनालयका अनुसार भेरीगङ्गा नगरपालिका–५, लेखवेशी नगरपालिका–४, वीरेन्द्रनगर नगरपालिका–२, ४ र १३, वराहताल गाउँपालिका वडा नं। ६, ७ र १०, सिम्ता गाउँपालिका–७ र गुर्भाकोट नगरपालिका–५ छनोट भई कार्यक्रम कार्यान्वयन भइरहेका छन् । प्रदेशसभाका प्रति सदस्यका लागि कृषि मन्त्रालयले कृषिमा रु १० लाख र पशु सेवातर्फ रु १० लाख विनियोजन गरेको थियो ।

सम्बन्धित