तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एक महिने आधारभूत पत्रकारिता तालिम सुरु

बाँके । बाँकेको नेपालगन्जमा एक महिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । कोरोना महामारीबाट थलिएको बाँकेमा लामो समयको अन्तरालमा सोमबारबाट पत्रकारिता तालिम सुरु भएको हो ।


नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ बाँके शाखाले एक महिने आधारभूत पत्रकारिता तालिम सुरु गरेको महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।


सोमबारबाट महासङ्घको हलमा सुरु भएको तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले पत्रकार महासङ्घसँग समन्वय गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले राज्यको अभिन्न अङ्गको रुपमा रहेको सञ्चार क्षेत्रमा क्षमतावान् व्यक्तिको आवश्यकता सधैँ खड्किरहने भन्दै एक महिने पत्रकारिता तालिमबाट उत्कृष्ट पत्रकार उत्पादनका लागि आधार तय हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।


साथै आगामी दिनमा समेत उपमहानगरपालिकाले विकसित खालको पत्रकारिता तालिमका लागि पत्रकार महासङ्घसँग समन्वय गर्ने राणाले प्रतिबद्धता समेत जनाउनुभयो । 

महासङ्घ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष मोहम्मद अयुब सिद्धिकी, ४ का अध्यक्ष मोहम्मद सफिक बेहना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button