तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा असार १४ गतेसम्म निषेधाज्ञा थप

कञ्चनपुर । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान तथा उपचारका लागि कञ्चनपुर जिल्लामा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः एक हप्ता थप गरी असार १४ गतेसम्म कायम गरिएको छ । 


जिल्ला कोभिड व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकबाट गरिएका निर्णयको आधारमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को अधिकार प्रयोग गरी असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो । हालसम्मको निषेधाज्ञालाई अत्यावश्यक सेवामा केही खुकुलो गरी आदेश जारी गरिएको छ । 


उहाँका अनुसार, स्वास्थ्य सेवा, दूध डेरी तथा पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय निर्बाध रूपमा साबिकको जस्तै र अन्य पसल व्यवसाय बिहान ६ देखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन गर्न सकिने छ ।  सार्वजनिक सेवा प्रवाह गर्ने सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू, बैङ्क तथा वित्तीय संस्था, गैरसरकारी सङ्घसंस्था तथा सहकारी लगायत अन्य निकायहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्ने गरी आलोपालो वा बार प्रणाली वा टोकन प्रणाली वा कोटा निर्धारण जस्ता उपयुक्त विधि अपनाई सो को पूर्व सूचना गरी सेवा प्रवाह गर्नुपर्ने आदेशमा उल्लेख छ । उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने छ । 


यद्यपि शैक्षिक संस्थाहरूले भने भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षा सञ्चालन गर्न पाइने छैन । कुनै पनि सभा, सम्मेलन, गोष्ठी, सेमिनार लगायत भिडभाड हुने ठाउँ सबै बन्द गरिएको छ भने अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा समेत हाललाई स्थगन गरिएको हुँदा अत्यावश्यक कामकाज बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन । विवाह तथा व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी भई जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी सम्बन्धित क वर्गको इलाका प्रहरी कार्यालयबाट अनुमति तथा पास जारी गर्ने भनिएको छ । 


अत्यावश्यक कामले नेपाल प्रवेश गर्न चाहने व्यक्तिहरूका लागि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी र दक्षिणी नाका गौरीफण्टाबाट मात्रै निर्धारित मापदण्ड पूरा गरी आवागमन सकिने तर अन्य खुला सिमानाको जुनसुकै बिन्दुबाट आवागमन नगर्न आदेश दिइएको छ । यसका अतिरिक्त बजारमा सामानको कृत्रिम अभाव, कालो बजारी, मूल्य वृद्धि जस्ता गैर कानुनी कार्य गर्ने जो कोहीलाई कडा कारबाही गरी सार्वजनिक गरिने चेतावनी दिइएको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशको पूर्ण पालना गर्न गराउन हुन सबैलाई अनुरोध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button