तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा भोलिबाट जोर बिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले असार ८ गतेदेखि वीरगन्जमा जोर बिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । 


जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै जोर बिजोर प्रणालीको आधारमा निजी सवारी साधन चलाउन दिने निर्णय गरेको जनाएको छ । 


प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेद्वारा हस्ताक्षरित सूचनामा जिल्लाभित्र निजी सवारी साधन असार ८ गतेदेखि लागू हुने गरी जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर हुने गरी सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ । 


कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि असार ६ गते जारी गरिएको आदेशमा संशोधन गर्दै प्रशासनले निजी सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो । 


यस अघि कोभिड व्यवस्थापन समितिको बैठकले मालवाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबहान, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दूधजन्य पदार्थ, पशुपन्क्षीको दानालगायत ढुवानीका सवारी साधनहरू, आइसोलेसन एवं होल्डिङ्ग सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने सवारी साधनहरू बाहेक अन्य सबै प्रकारका निजी (दुई पाङ्ग्रे बाहेक) तथा सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button