तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ ।

स्थानीय तहहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिई रहेको बेला भद्रपुरमा भने यस कार्यक्रमअन्तर्गतका श्रमिकलाई वडा कार्यालयहरूसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा परिचालन गरिएकोले कार्यक्रम प्रभावकारी देखिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा दर्जनौँ सडक निर्माण तथा स्तरोन्नतिमा श्रमिकहरूलाई परिचालन गरेको छ भने वडा नं २ मा नगरपालिकाको स्वामित्वमा रहेको बाइस कट्ठा जग्गामा बृहत् कृषि परियोजना सञ्चालन गर्ने उद्देश्यले उक्त जमिनलाई व्यवस्थित गर्न श्रमिकहरू परिचालन भएका छन् । 

वर्षौँदेखि उपयोगविहीन रहेको सो जमिनमा यतिखेर खनजोत गरेर कृषि प्रयोजनका लागि उपयुक्त बनाइएको छ भने हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई कङ्क्रिट घेराबारा र टनेल निर्माणमा खटाइएको कार्यक्रमका संयोजक टिकाराम पाण्डेले बताउनुभयो । उक्त जमिन भद्रपुर नगरपालिका वडा नं १ र २ को सिमानामा पर्छ । 

सो जमिनमा व्यावसायिक तरकारी खेती तथा फलफूल खेती गरिने बताइएको छ । परियोजनामार्फत अहिले परिचालन गरिएका श्रमिकलाई नै स्वरोजगार बनाउने योजना रहेको छ । भविष्यमा कृषिको अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने गरी विकास गर्न लागिएको सो कृषि पाठशाला कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी १५ जनालाई सहभागी गराइने छ । उनीहरूले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने  नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

आफ्नो वडामा विगतमा उपभोक्ता समितिमार्फत गरिँदै आएका विकास निर्माणका काममा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई परिचालन गरिएको र लगानीको दृष्टिकोणले पनि कम बजेटमा गुणस्तरीय काम भएको बताउँदै वडा नं १० का वडाध्यक्ष श्रमिकहरूलाई सही ढङ्गले परिचालन गर्न सक्दा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

भद्रपुरमा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८४ जनाले सय दिनको रोजगारी पाएका छन् । एक श्रमिकले एक दिनको ५१७ रुपैयाँ ज्याला पाउँछन् ।

कार्यक्रम उपलब्धिमूलक देखिएपछि यो कार्यक्रमलाई थप व्यवस्थित र नगरभित्र थप रोजगार सिर्जन गर्न आ. व. ०७८/०७९ का लागि भद्रपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेट्दै आफ्नो स्रोतबाट पनि बजेट विनियोजन गरी नगर सभामा पेश गर्न लागेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button