तपाईँ सुन्दै हुनुहुन्छः

घट्दै भरतपुर महानगरको बेरुजु

चितवन। भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै गएको छ । महानगरले आज एक विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधि आएपछि बेरुजुमा कमी आएको जनाएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्वारा जारी विज्ञप्तिमा कूल बेरुजुमध्ये निर्वाचन हुनुभन्दा पहिलाको ६८.९६ प्रतिशत र जनप्रतिनिधि आइसकेपछिको चार वर्षको जम्मा ३१.०४ प्रतिशत रहेको उल्लेख छ । बेरुजुको ठुलो हिस्सा नियमित तथा पेश्की बेरुजुको रहेको र असुलउपर गर्नुपर्ने अधिकांश असुलउपर भएको जनाइएको छ । जनप्रतिनिधि आउनुअघिको महानगरको बेरुजु रु ६६ करोड ८९ लाख थियो । जनप्रतिनिधि आएपछिको बेरुजु रु ३० करोड ११ लाख रहेकोमा केही दिनभित्रै ६० प्रतिशतभन्दा बढी फर्छ्योट हुने महानगरले जनाएको छ ।

बाँकी बेरुजु फर्छ्योटका लागि महानगरपालिकाले बेरुजुको लगत राख्ने, वर्गीकरण गर्ने तथा अध्ययन गर्नका लागि बेरुजु फर्छ्योट समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । लेखा समितिले निरन्तर कार्य गरिरहेको र नियमित गर्ने बेरुजुको लगत तयार गरी सोको प्रमाण जुटाई लेखा समिति, बेरुजु फर्छ्योट समिति हुँदै लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फर्छ्योट गरेको प्रमाण महालेखा परीक्षकको कार्यालयमा पेस गरी सम्परीक्षण गराई लगत कट्टा गर्ने चरणमा रहेको जनाइएको छ ।

महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जनप्रतिनिधि आएपछि भएका बेरुजु अधिकांश पेश्की र नियमित बेरुजु भएको बताउनुभयो । उहाँका अनुसार असुलउपर गर्नुपर्ने बेरुजु न्यून मात्रै रहेको छ । केही दिनभित्रै ६० प्रतिशतभन्दा बढी बेरुजु फर्छ्योट हुने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनप्रतिनिधि आउनुअघिको विभिन्न नगरपालिका गाभिएकाले आवश्यक कागजपत्र उपलब्ध हुन कठिन हुँदा फर्छ्योट गर्न समस्या भएको छ ।” उहाँका अनुसार नियमित र पेश्की बेरुजु अधिकांश कार्यालयमा हुने भए पनि क्रमशः आवश्यक कागजपत्र पु¥याएपछि फर्छ्योट हुँदै जान्छन् ।

अर्यालले भन्नुभयो “बेरुजु अनियमितता र भ्रष्टाचार होइन, नियमित गर्ने विषय हो ।” बेरुजु आउनुमा स्थानीय सरकार मात्रै जिम्मेवार नभएर प्रदेश र सङ्घले समयमै कार्यविधि, नीति नियम नबनाउनु र महालेखा परीक्षकको कार्यालयबाट वर्षको एक मात्रै सम्परीक्षण हुने हुँदा पनि बेरुजु बढेको र फर्छ्योट गर्न समय लागेको अर्यालको भनाइ छ । अन्य स्थानीय तहको तुलनामा भरतपुर महानगरमा बेरुजुको मात्रा बढी नभएको अर्यालको दाबी छ । गत आर्थिक वर्षमा भरतपुर महानगर बेरुजु फर्छ्योटमा देशकै दोस्रो भएको अर्याल बताउनुहुन्छ ।

महानगरपालिकाले सङ्घ र प्रदेश सरकारले निर्माण गरेको कानुन तथा आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै सेवा प्रवाहमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताउनुभयो । उहाँले वार्षिक रूपमा आफ्नो काम कारबाही, आर्थिक तथा समग्र विकासको गुणस्तरीयताका सम्बन्धमा समयमै आन्तरिक तथा अन्तिम लेखापरीक्षण सम्पन्न गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button