तपाईँ सुन्दै हुनुहुन्छः

थाहा नगरमा कोल्ड स्टोर निर्माण अन्तिम चरणमा

मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरमा बागमती प्रदेश सरकार र सहकारीको लगानीमा निर्माणाधीन शीत भण्डार (कोल्ड स्टोर) को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 


बागमती प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतको लगानीमा निर्माण भइरहेको कोल्ड स्टोर चालु आर्थिक वर्षबाट सञ्चालनमा आउने थाहा नगरपालिकाले जनाएको छ । 


प्रदेश सरकारले बजेटमा घोषणा गरेको एक जिल्ला एक शीत भण्डारको कार्यक्रम अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा शीत भण्डार केन्द्रको निर्माण भइरहेको हो । थाहा नगरपालिका वडा नम्बर ३ स्थित १० रोपनी क्षेत्रफलमा निर्माणाधीन शीत भण्डार प्रदेश सरकार र सहकारीको लगानी एवम् थाहा नगरपालिकाको समन्वयमा निर्माण भइरहेको तथा शीत भण्डारको सञ्चालन भने सहकारी मार्फत हुने थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिनुभयो । 

२०७६ कात्तिक ९ गतेबाट निर्माणको कार्य सुरु भएको शीत भण्डार १५ करोडमा ठेक्का आव्हान भई ११ करोड ४७ लाखमा सम्झौता भई निर्माण कार्य सुरु भएको हो । १ हजार ७ सय मेट्रिक टन क्षमताको उक्त शीत भण्डार निर्माणका लागि प्रदेश सरकारको ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीहरूको ३ करोड ४४ लाख लगानी रहेको छ । उक्त कोल्ड स्टोरबाट तरकारीको पकेट क्षेत्रका रुपमा रहेको थाहा नगरपालिका र कैलाश गाउँपालिकाको गोगने डाँडखर्क, मार्खु र फखेल क्षेत्रका कृषकहरू लाभान्वित हुने छन् । 


शीत भण्डार निर्माण भएपछि उत्तरी क्षेत्रका किसानले बढी मूल्य तिरेर अन्यत्र भण्डारण गर्नुपर्ने समस्याको अन्त्य हुने र कृषकको ठुलो रकम समेत बचत हुने मेयर विष्टले बताउनुभयो । 


तरकारी बालीमा ख्याति प्राप्त थाहा नगरपालिका क्षेत्रमा योसँगै साना ठुला ४ वटा कोल्ड स्टोर (शीत भण्डार) हुने भएको छ । वडा नम्बर ३ मा निर्माणाधीन शीत भण्डारलगायत थाहा नगरपालिका वडा नम्बर–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीत भण्डार सञ्चालन गर्दै आएको छ । नेपाल सरकारको २० लाख र सहकारीको करिब ६० लाख रुपियाँको लागतमा कोल्ड स्टोर निर्माण भएको छ । 
५५ टन क्षमताको सो शीत भण्डारमा मुख्य गरी आलु राख्ने गरिएको छ । वार्षिक करिब तीन सय किसानले लाभ लिइरहेको शीत भण्डारमा कृषि जे.टी.ए. एक जना सहित दुई जनाले पूर्णकालीन र ६ जनाले आंशिक रोजगार समेत पाएका छन् ।

त्यस्तै थाहा–२ मा निजी क्षेत्र मैना कृषि सेवा प्रालिले शीत भण्डार सञ्चालनमा गरेको छ । ३ करोडको लगानीमा चेम्बर प्रविधि मार्फत कोल्ड स्टोर सञ्चालनमा आएको छ । ३ रोपनी क्षेत्रफल ओगटेको उक्त शीत भण्डारमा १२ हजार बोरा क्षमताको छ । शीत भण्डारमा आलु, प्याज र गोलभेँडाको भण्डारण गर्न सकिन्छ । 


शीत भण्डारबाट पाँच जनाले प्रत्यक्ष रोजगार पाएका छन्, भने थाहा नगरका करिब एक हजार किसान लाभान्वित भएका छन् । यस्तै थाहा नगरपालिका वडा नम्बर ४ मा आ.व. २०६०–०६१ बाट निर्माण थालिएको ऋषेश्वर शीत भण्डार अझै भने पूर्ण हुन सकेको छैन । निजी क्षेत्रको समेत लगानीमा निर्माण प्रारम्भ भएको उक्त शीत भण्डार भने अलपत्र अवस्थामा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button