२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो पीडितका लागि नर्भिकमा अलग्गै उपचार युनिट

रेडियो नेपाल २०७८ असार ४ गते १८:१५

काठमाडौँ । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउन सक्ने बाढी पहिरोमा परी घाइते हुनेहरूको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट सञ्चालनमा ल्याएको छ । 

बाढी पहिरो पीडितहरूको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतुले अस्पतालले अलग्गै युनिट नै तयार गरी सञ्चालनमा ल्याएको हो । 

नर्भिक अस्पतालले बाढी पहिरोमा परी घाइते भएकाहरूका लागि सञ्चालनमा ल्याएको युनिटमा डेडिकेटेड शय्या, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ । यो टिमले अनवरत रुपमा बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचार गर्नेछ । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हुनसक्ने मानवीय क्षतिलाई सकेसम्म कम गर्ने सरकारको उद्देश्यमा साथ दिँदै नर्भिकले डेडिकेटेड युनिट सञ्चालनमा ल्याएको हो । ‘यो युनिटमा बाढी पहिरोमा परी घाइते भएकाहरूको स्तरीय उपचार हुनेछ ।’ उनले भने–‘बाढी पहिरोमा परी घाइते भएकाहरूले अकालमा ज्यान गुमाउन नपरोस् भनेर समेत हामीले यो अवधारणाबाट काम थालेका हौँ ।’ 

कोभिड–१९ को दोस्रो लहरका कारण बन्द भएको नर्भिकको ओपिडी सेवा आइतबारदेखि सञ्चालनमा आइसकेको छ । यस्तै, अपरेसन थिएटर समेत पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ । 

सम्बन्धित