तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराका अधिकांश ग्रामीण सडक अवरुद्ध

डडेलधुरा । केही दिन देखीको अविरल वर्षाका कारण डडेलधुराका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । निरन्तर रुपमा भइरहेको वर्षाका कारण अवरुद्ध सडकले स्थानीयहरूलाई हिँडडुलमा सास्ती भइरहेको छ । 

निषेधाज्ञाका कारण यातायात सञ्चालन नहुँदा यात्रुवाहक सवारी साधन सञ्चालनमा नआएको भए पनि मालवाहक यातायातका सवारी साधनका साथै स्थानीयहरूलाई आवतजावतमा निकै समस्या भइरहेको सेवाग्राहीको गुनासो छ । 

वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्धका साथै हिलाम्मे हुँदा स्वास्थ्य उपचारका साथै अति आवश्यक कामका लागि जिल्ला सदरमुकाम आउँ नेहरु समस्यामा परेका छन् । स्थानीय तहहरू मापदण्ड विपरीत ग्रामीण सडक निर्माण गर्ने गरेका कारण पनि वर्षा तका समयमा डडेलधुराका अधिकांश सडक हिलाम्य र जोखिम पूर्ण रहेका छन् । 

जिल्लाको भित्री मधेश परशुराममा बाढी पहिरोको खतरा

तीन वर्ष यता कै सबै भन्दा बढी लगातार वर्षा भइरहेपछि  डडेलधुराको भित्री मधेश क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ ।  
जल तथा मौसम विज्ञान विभागका अनुसार डडेलधुराको पुन्तुरा र जोगबुढाका वर्षा मापन केन्द्रमा लगातारको वर्षातले रातो बत्ती देखिनुका साथै भारी वर्षा मापन गरिएको कार्यालयले जनाएको हो ।

जिल्लाको आधा जनसङ्ख्या रहेको भित्रि मधेश क्षेत्र अन्तर्गत रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउन सक्ने सम्भावना रहेकोले सतर्क रहन आलि ताल गाउँपालिका र परशुराम नगरपालिकाले सम्भावित जोखिमबाट सजग र सुरक्षित रहन अनुरोध गरेको छ ।

डडेलधुरा जिल्लाको भित्रि मधेश स्थित पुन्तुरा र जोगबुढा वर्षा मापन केन्द्रहरूमा पछिल्लो एक हप्ता अत्यधिक वर्षा भएपछि रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मनसुनको सक्रियतासँगै अरू वर्षको तुलनामा बढी वर्षा हुन सक्ने भएकोले बाढी पहिरो र भूक्षयको उच्च संवेदनशील क्षेत्र रहेको चुरे पर्वत श्रृंखला र रंगुन उपत्यकामा जनधनको क्षतिबाट बच्न र बचाउन सम्बन्धित स्थानीय तहबाट सबै पक्षसँग आग्रह पनि गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button