तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

file photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा आज विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नेपालीले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राख्नुभएको प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले सभामा घोषणा गर्नुभएको थियो । आजको बैठकमा ५८ सदस्य उपस्थित हुनुहुन्थ्यो ।

मुख्यमन्त्रीलाई उहाँको दल नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा दुई÷दुई प्रदेशसभा सदस्य तथा स्वतन्त्र सदस्य राजीव गुरुङले समर्थन गर्नुभएको थियो । प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का २७ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गर्नुभएको थियो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपालीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज मत लिनुभएको हो । मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन असफल भएको खण्डमा संविधानको धारा १६८ को उपधारा ७ बमोजिम प्रदेशसभा विघटन भई मध्यावधि निर्वाचनको घोषणा हुने व्यवस्था छ ।

सदनबाट विश्वासको मत प्राप्त गरेपछि सरकारमा सहयात्री राजनीतिक दलसँगको छलफलबाट उहाँले छिट्टै मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गर्नुहुने मुख्यमन्त्री स्रोतले जनाएको छ । मुख्यमन्त्रीमा शपथ लिँदा उहाँले कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र गरी चार मन्त्री नियुक्त गर्नुभए पनि उहाँहरूको कार्य विभाजन बाँकी रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button