तपाईँ सुन्दै हुनुहुन्छः

कृषिमा यान्त्रीकरण भएसँगै विश्वकर्मा समुदायको आरन पेशा सङ्कटमा

वीरगंज । पर्सा र बारा जिल्लामा परम्परागत कृषि कर्म छाडेर स्थानीय कृषकहरू कृषिको यान्त्रीकरण तर्फ आकर्षित भएसँगै विश्वकर्मा समुदायको पुर्खौली आरन पेशा सङ्कटमा परेको छ ।  

हाल खेत जोत्नको लागि ट्याक्टरको प्रयोग भई रहेको छ भने बाली थन्क्याउन हार्भेस्टरको प्रयोग हुने क्रमसँगै परम्परागत कृषि औजार हलो, फाली, हसिया, कोदालो बनाउने आरन पेशा लोप हुने अवस्थामा पुगेको छ । 

घरायसी तथा खेतीपातीका लागि प्रयोग हुने, हसिया, खुर्पी, कोदालो, बन्चरो तथा खुकुरी बनाउन तथा मर्मतका  लागि मात्र सर्वसाधारणहरू अहिले आरनमा आउने गरेको पर्सा जिराभवानी गाउँपालिका वडा नं ३ नौका टोला निवासी प्रेम विश्वकर्माले बताउनु भयो ।

विगतमा असारमा भ्याई नभ्याई हुने गरेको आरन पेशा अहिले कृषिमा आधुनिकीकरण भएसँगै लोप हुने अवस्थामा पुगेको विश्वकर्माले बताउनुभयो । 

आरन पेशामा काम गरे बापत पाउने ज्याला पनि निकै कम भएका कारण यस समुदायले पुर्खौली पेशालाई छोड्दै गएको विश्वकर्माको दाबी छ ।

परम्परागत चलन अनुसार ग्रामीण क्षेत्रका बासिन्दाहरूले प्रयोग गर्ने कृषि औजार मर्मत तथा निर्माणका लागि वार्षिक रुपमा तोकिएको  प्रति परिवार १ मन धानबाट  परिवारको छाक टार्न नसकिने हुँदा आफ्ना छोराछोरी अन्य पेशा लागेको पर्सा ठोरीका बल बहादुर विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button