तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा जमिन भासिन थालेपछि ४० घरपरिवार विस्थापित, स्थानीयलाई सुरक्षित ठाउँमा सारियो

बाजुरा । लगातारको अविरल वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका वडा न. ४  फैती र ६ न.वडाको बोल्डिकमा शुक्रवार जमिन भासिएपछि ४० घरपरिवार विस्थापित भएका छन् । गाउँ भन्दा तलबाट जमिन भासिएपछि उक्त गाउँका स्थानीयहरू विस्थापित हुन पुगेका हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताउनुभएको छ। 

फैतीको दलित बस्तीमा तलबाट जमिन भासिएपछि ४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको र २१ घर आंशिक रुपमा क्षति भएका छन् ।  जमिन भासिएर घरमा क्षति पुर्‍याएपछि स्थानीयहरूको उद्धार गरी सुरक्षित ठाउँमा लगिएको निमित्त प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो। यस्तै सोही गाउँपालिका–६ बोल्डिकमा पनि कर्णाली करिडोरको सडकमा पहिरो गएर गाउँको जमिन समेत भासिएपछि स्थानीयहरूलाई  उद्धार गरी आफन्तकोमा  सुरक्षित ठाउँमा सारेको गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बताउनुभएको छ। 

जोखिममा रहेका ४० परिवारलाई विद्यालय र आफन्तमा सारेर गाउँपालिकाले खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको अध्यक्ष मल्लले बताउनुभयो। हिमालीमा बाटोहरू पूर्ण रुपमा बन्द भएकाले बाढी पहिरो र अन्य दुर्घटना को   उद्धारका लागि आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाइएको निमित्त प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो।

हिमाली गाउँपालिका–४ फैतिका पहिरोले पूर्ण विस्थापित भएका ४ परिवारलाई हिमाली गाउँपालिकाको पहलमा फैतीमा रहेको शैलेश्वरी माध्यमिक विद्यालयमा राखिएको र राहत वितरणका लागि पनि गाउँपालिकाकाले व्यवस्था गरिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button