तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा कोरोनाका सक्रिय संक्रमितहरु घट्दै

जनकपुरधाम । प्रदेश नंं २ का विभिन्न जिल्लाहरूमा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा व्यापक मात्रामा कमी आएको छ । खास गरेर जेठको अन्तिम सातामा आएर कोरोनाको संक्रमण दर ओरालो लागेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । 

अहिले संक्रमित हुनेभन्दा निको हुने दर निक्कै बढी भएकाले संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानीमा उपचारमा रहनु भएका संक्रमितहरु निको भएर घर फर्किन थालेकाले आइसोलेसन खाली हुन थालेको छ ।
 कोरोनालाई पराजित गरेर दैनिक रुपमा २ सय देखि ९ सय जनासम्म निको हुन थालेका छन् । आज मात्र ४ सय ४७ जनाले कोरोनालाई पराजित गरेर निको भई घर फर्केका छन् । जब कि संक्रमित हुनेको सङ्ख्या प्रदेशका ८ जिल्लामा ९६ जना रहेका छन् । कुनै कुनै दिन २० जनामा मात्र संक्रमण देखिन थालेको छ । 

हाल प्रदेश नंं २ को विभिन्न जिल्लामा गरेर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय ९७ रहेका छन् । कुनै वेला ११ हजार भन्दा बढी सक्रिय संक्रमित प्रदेश न.ं २ मा रहेका छन् । सक्रिय संक्रमित मध्ये २ सय १३ जना संस्थागत आइसोलेसनमा र बाँकी ६ हजार ७ सय ८४ जना होम आइसोलेसनमा रहनु भएको छ । 

कोरोनाका बढी सक्रिय संक्रमित पर्सा जिल्लामा रहेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ । पर्सा जिल्लाको संस्थागत आइसोलेसनमा ३१ जना तथा होम आइसोलेसनमा ३  हजार ६ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३७ जना रहेका छन् । 

दोस्रोमा महोत्तरी जिल्ला रहेका छन् । महोत्तरी जिल्लाको संस्थागत आइसोलेसनमा १२ जना तथा होम आइसोलेशनमा १ हजार १ सय ५८ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७० रहेका छन् । धनुषा जिल्लामा संस्थागत आइसोलेसनमा ५७ जना तथा होम आइसोलेसनमा ७ सय ५७ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय १४ जना रहेका छन् । 

सर्लाही जिल्लामा संस्थागत आइसोलेसनमा २३ जना तथा होम आइसोलेसनमा ६ सय ४४ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ६७ जना रहेका छन् । बारा जिल्लाको संस्थागत आइसोलेसनमा १४ जना तथा होम आइसोलेसनमा ३ सय ७६ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ९० रहेका छन् । 

सप्तरी जिल्लाको संस्थागत आइसोलेसनमा ५० जना तथा होम आइसोलेसनमा ३ सय ७८ जना गरेर ४ सय ३८ जना रहेका छन् भने सिरहा जिल्लाको संस्थागत आइसोलेसनमा २४ जना र होम आइसोलेसनमा ३ सय १३ गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ३७ जना रहेका छन् । सबै भन्दा कम रौतहट जिल्लामा रहेका छन् । रौतहटको संस्थागत आइसोलेसनमा २ जना तथा होम आइसोलेसनमा १ सय ५२ जना गरेर १ सय ५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button