तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा गोठालो गएका सात जना बेपत्ता

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाको जलजला पाटनमा गोठाला गएका सात जनालाई हावाहुरीले उडाएर बेपत्ता बनाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनु भयो । उनीहरू गाई, बाख्रा र भैँसीलाई पाटन छोड्न जेठ ३१ गते पाटन पुगेका र हावाहुरीले उडाएर बेपत्ता बनाएको अध्यक्ष बस्नेतले बताउनु भएको छ । 

बेपत्ता हुनेहरूमा कुशे गाउँपालिका–८ औलरिजाका ३५ वर्षीय दिल बहादुर खड्का, २५ वर्षीय विक्रम खडका, २८ वर्षीय चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीय धनसरा खड्का र ९ नम्बर पैंकका ४० वर्षीय कृष्ण रोकायलाई हावाहुरीले उडाएर बेपत्ता बनाएको हो । सँगै गएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गङ्गा खड्का चार दिनपछि घर फर्केका छन् । 

पाटनमा बेपत्ता भएका ७ जनाको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक सहित सात जनाको प्रहरी टोली पाटन तर्फ पठाइएको जाजरकोटका प्रहरी प्रमुख मधु कुमार थापाले जानकारी दिनु भएको छ । 

प्रतिकुल मौसम र भौगोलिक विकटता टेलिफोन सम्पर्कभन्दा बाहिर रहेको उक्त पाटन क्षेत्रमा खोजी कार्य गर्न गाह्रो भएको प्रहरी प्रमुख थापाको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button