तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्न र दाउरा सङ्कलन गर्न नदी किनारमा नजान तनहुँ प्रशासनको अनुरोध

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले निरन्तर वर्षा हुन सक्ने भन्दै सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ ।

आगामी असार ३ गतेसम्म वर्षा हुने सूचना प्राप्त भएको भन्दै बाढी, पहिरो लगायतका जोखिम देखिएकाले सजग रहन सर्वसाधारणहरुलाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा बाढी पहिरो हुने क्षेत्रमा नजान, नदी किनारमा नजान तथा पौडी नखेल्न भनिएको छ ।

जल तथा मौसम विभागले तनहुँ जिल्लामा असार १, २ र ३ गते भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबान हुनसक्ने भएकाले उक्त दुर्घटना बाट जोगिन सूचना जारी गरेको हो ।  

बाढी, पहिरो र डुबान हुने क्षेत्रमा नजाने प्रशासनले आग्रह गरेको छ । यस्तै नदी र खोलामा माछा मार्ने, पौडी खेल्न जने, दाउरा सङ्कलन गर्ने लगायतका कुनै पनि कार्य नगर्न उक्त सूचनामा भनिएको छ ।

प्रशासनले सेती, मादी बुल्दी लगायत अन्य खोलाको छेउछाउमा नजान र नदी खोला किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । 

कुनै आपतकालिन समस्या देखिएका खण्डमा जिल्ला आपतकालिन केन्द्रको ०६६५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नं: ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नंः ९८५६००११११, प्रहरी उपरीक्षकको फोन नंः ९८५६०६५५५५ मा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले यस अघि नै देशमा मनसुन सुरु हुने र भारी वर्षा हुनसक्ने सङ्केत गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button