तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा बुद्ध जयन्ती पूजापाठमै सीमित गरी मनाइयो

रुपन्देही । कोरोना महामारीका कारण यस वर्ष बुद्ध जयन्ती पूजापाठमै सीमित भएको छ । सीमित बौद्ध भिक्षु, भिक्षुणी, लामा गुरुमाहरू, विकास कोषका कर्मचारीहरू लगायत सीमित पाहुनाको उपस्थितिमा  बुद्ध जयन्ती मनाइएको हो । महामारीले गर्दा पूजापाठमै सीमित बुद्ध जयन्तीको कार्यक्रममा विश्व शान्ति र महामारी अन्त्यको कामना गरिएको छ ।
लुम्बिनीमा विगतका वर्षहरूमा धूमधामका साथ बुद्ध जयन्ती मनाइन्थ्यो । देश विदेशका विशिष्ट पाहुनाहरुको सहभागितामा मनाइने बुद्ध जयन्ती यसपल्ट भने सामान्य औपचारिक कार्यक्रममै सीमित रह्यो । बुधवार २५६५ औँ बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनीमा उपलब्ध महायानी, बज्रयानी र थेरवादी गुरु/गुरुमा, भिक्षु/भिक्षुणी, लामा गुरुहरुबाट धार्मिक पूजापाठ तथा मन्त्रोच्चारण गरे । सुरुमा थेरबादी बौद्ध परम्परा मान्ने भिक्षु भिक्षुणीले रतनसुत्र पाठ गरेका थिए । महायानी र बज्रयानीले सम्प्रदायले पनि महामारी समाप्ति र मानव हित कल्याणका लागि सूत्र पाठ गरे । त्यसपछि गौतम बुद्ध फलफूल बाटिका क्षेत्रमा २५ हजार फलफूलको बिरुवा रोपिएको थियो । साँझ विश्व शान्ति र कोरोना महामारी अन्त्यको कामना गरी दीप प्रज्वलन गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताउनुभयो ।
ईशा पूर्व छैटौँ शताब्दीमा भगवान् गौतम बुद्धले लिच्छिबीहरुको राजधानी वैशालीमा रतन सूत्र पाठ गरेर महामारी अन्त्य भएको थियो । पानी नपरेर अनिकाल भई महामारी फैलिएर हजारौँ मान्छे मरेका थिए । रातभरि सूत्र पाठ गरेपछि अर्को दिन बिहान बादल फाट्यो । त्यस कारण यसपल्टको बुद्ध जयन्तीमा लुम्बिनीमा पनि विश्वभरिबाटै कोरोना महामारी अन्त्यको कामना गर्दै त्यही सूत्र पाठ गरिएको हो ।
पूजापाठपछि कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बुद्धका शिक्षा विश्व शान्ति र मानव कल्याणका लागि अत्यन्तै महत्त्वपूर्ण भएको बताउनुभयो । बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री र पर्यटन मन्त्रीले पठाएको शुभकामना सन्देश सुनाइएको थियो । कार्यक्रममा उपस्थित भिक्षु भिक्षुणी, लामा गुरुमालाई सङ्घ दान गरिएको थियो । संघ दानमा भिक्षुलाई चाहिने अष्ट परिष्कारदेखि खाद्यान्न दिने प्रचलन रहे पनि सङ्क्रमणका कारण यसपल्ट नगद दिइएको हो ।
यस वर्ष भब्य रुपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम भए पनि बन्दाबन्दीले पूजापाठमा सीमित गरिएको हो । गौतम बुद्धको जन्म वैशाख पूर्णिमाकै दिन भएको थियो । बुद्धले बुद्धत्व प्राप्त गरेको दिन पनि पूर्णिमाकै दिन हो भने बुद्ध ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको दिन पनि पूर्णिमाकै दिन हो । त्यसैले प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन लुम्बिनी बुद्ध जयन्ती बनाउँदै आइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button