तपाईँ सुन्दै हुनुहुन्छः

भीमेश्वरको सिलामा पसिना

दोलखा।दोलखा स्थित भीमेश्वर मन्दिरको सिलामा बैशाख २५ गते शनिवार झन्डै डेढ घण्टा मसिना आएको छ ।

भीमेश्वरको सिलामा दाँया पट्टी बाट पसिना आउँदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउँदा जनता र सबैतिर बाट पसिना आउँदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहँदै आएको छ ।भीमेश्वर मन्दिरमा मध्यान्न पूजा चलिरहँदा १२ः१५ बजे सिलामा पसिना आएको थियो । दिउँसो १ः४० बजेसम्म पसिना आएको भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।

म मध्यान्न पूजा गर्दै थिए भीमेश्वरको सिलाको दाँया माथिल्लो भागमा एक थोपा पसिना देखे मन्दिरका पुजारी काशिनारायण श्रेष्ठले भन्नु भयो – त्यसपछि उक्त पसिना बढ्दै गएर सिलाको सबैतिर फैलियो । सिलामा पसिना आएको देखेपछि आफूले अरू पुजारी र गुठियारलाई खबर गरेको श्रेष्ठले बताउनु भयो ।

भीमेश्वरको पूजा बिहान ५ बजेअघि आरम्भ, ९ बजे रुद्री, मध्यान्ह १२ बजे छक्काल (मध्यान्ह), दिउँसो २ बजे राज पूजा र साँझ ६ बजे सन्ध्या आरती पूजा गरिन्छ । कोरोनाका कारण सर्वसाधारणको लागि मन्दिर बन्द गरिएको भए पनि दैनिक पूजा भने भई रहेको थियो ।

कोरोना सङ्क्रमणका कारण भीमेश्वर मन्दिरमा पसिना आउँदा भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायत सीमित मानिसले मात्र पसिना पुच्छदै चम्मर हम्किएका थिए । बाहिर केही मानिसले घण्टा र नगरा बजाएका थिए ।मन्दिरमा पसिना आएपछि कपासले पसिना पुछेर चम्मरले हम्कने र ठुलो ठुलो आवाजमा घण्टा तथा नगरा बजाउने प्रचलन रहेको छ ।

पहिलो पटक पसिना पुछेको कपास राष्ट्रप्रमुखको मा पठाउने र राष्ट्र प्रमुखबाट क्षमा पूजा गर्ने प्रचलन समेत रहेको छ । यो पटक कोरोना सङ्क्रमणका कारण प्रमुख जिल्ला अधिकारी मार्फत कपास राष्ट्रपति कहाँ पठाउने र उपयुक्त समयमा क्षमा पूजा गरिने दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखाका वडा अध्यक्ष विराजमान श्रेष्ठले बताउनुभयो ।

यस अघि २०७७ साल मङ्सिर ९ गते पनि भीमेश्वरको सिलामा पसिना आएको थियो । त्यसै गरी भीमेश्वरको सिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठुलो बाढी पहिरो आएको स्थानीय स्मरण गर्दछन् ।

त्यसै गरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत सङ्ग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरबार हत्या काण्ड भएको स्थानीय बत्ताउँछन् ।

त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल ज्येष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरू बताउँछन् । त्यसै गरी पछिल्लो पटक २०७० साल मङ्सिर र फागुन १३ गते, २०७४ असोज १० गते र २०७६ फागुन ८ गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button