तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लकडाउन गर्न स्थानीय तहको सिफारिस

तनहुँ । दोस्रो लहरको कोरोना भाइरसको जोखिम बढे सँगै तनहुँका स्थानीय तहहरूले तीन दिनभित्र निषेधाज्ञा जारी गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई सिफारिस गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले जिल्ला भित्र १५ भन्दा बढी व्यक्ति भेला हुने गरी धार्मिक तथा सार्वजनिक कार्यक्रम, गोष्ठी, भेला नगर्ने समेत निर्णय गरेको समितिका प्रवक्ता गल गुरुङले जानकारी दिनुभयो ।
यस्तै जिल्लाका सबै पालिकाहरूले अक्सिजन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू औषधि लगायत अन्य सामानहरू खरिद गरी भण्डार गरी मौज्दात राख्न समेत बैठकले निर्णय गरेको छ ।
विकास निर्माणमा जिल्लाका सबै पालिकाहरूले बाहिरीबाट आउने जनशक्ति रोक्ने, नल्याउने साथै स्थानीय जनशक्ति मार्फत विकास निर्माणका कामहरू सुचारु गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले जिल्लाका सबै शिक्षण संस्थाहरूको पठनपाठन र परीक्षा पूर्ण रूपमा स्थगित गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले तनहुँ जिल्लाबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरू कोभिड अवधिभर आफ्नो पारिवारिक कार्यक्रम (विवाह, व्रतबन्ध, धार्मिक कार्यक्रम आदि) बाहेकको कार्यक्रममा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् ।
सो बैठकमा जिल्लाका दशै स्थानीय तहको पालिका प्रमुख/अध्यक्ष/उप प्रमुख, जिल्ला प्रमुख अधिकारी, तनहुँ जिल्ला प्रहरी उपरीक्षक र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button