तपाईँ सुन्दै हुनुहुन्छः

फलेवासका श्रमिक परिवारलाई पेन्सन 

पर्वत । पर्वतको फलेवास नगरपालिकाले श्रमिक परिवारलाई पेन्सन दिने योजना कार्यान्वयन गरेको छ ।

नागरिक लगानी कोष सँग मिलेर फलेवास नगरपालिकाले हालै पेन्सन कार्यक्रम शुरु गरेको हो । श्रमिक परिवारलाई ६० वर्षको उमेर पुगेपछि पेन्सन दिने योजना सहित नागरिक लगानी कोष संग सहकार्य गरेर नगरपालिकाले दुई पक्षीय सम्झौता गरेको छ ।

सम्झौतामा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगर प्रमुख पदमपाणी शर्माले हस्ताक्षर गर्नुभएको छ । उक्त योजनामा सहभागी करिब ७ सय असङ्गठित क्षेत्रका विपन्न मजदुरले ६० बर्ष पुगे पश्चात् मासिक रुपमा पेन्सन प्राप्त गर्ने जनाइएको छ ।

यो वर्षमै १२ सय श्रमिक परिवारलाई समावेश गर्ने नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो । पेन्सन योजनामा समावेश भएकाले समय पुगेपछि सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ट रकम समेत लिन सक्ने गरी सहभागिता सुनिश्चित गरिएको छ । यस पेन्सन योजनाको बैङ्किङ पार्टनरको रुपमा एनआइसी एसिया बैङ्क रहेको छ ।

पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत कोषको तर्फबाट १÷१ सय रुपैयाँ सहभागीको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले प्रतिबद्धता पनि जनाउनु भएको छ ।

नगरपालिकाले शुरु गरेको पेन्सन योजनामा अति विपन्न परिवार, श्रम गरेर खाने वर्ग, अति विपन्न दलित, कम आय भएका महिलाहरू सहभागी हुन पाउँछन् । तर सरकारी जागिर र वैदेशिक रोजगारीमा परिवारका सदस्य भएका परिवार समावेश हुन पाउँदैनन् ।

नागरिक पेन्सन योजना कार्यक्रमका फोकल पर्सन रमेश शर्मा पौडेलका अनुसार कोषमा लाभग्राहीले मासिक ५ सय रुपैयाँ र नगरपालिकाले ५ सय रुपैयाँ जम्मा गरिदिन्छ । यो रकम बाटै ६० वर्ष उमेर पुगेपछि पेन्सन वितरण गर्न शुरु गर्ने योजना रहेको पौडेलले बताउनुभयो ।

यो कार्यक्रम कार्यान्वयन गर्दा यो वर्ष नगरपालिकालाई करिब ५ लाख रुपैयाँको दायित्व वहन गर्नुपर्ने देखिएको छ । नगरपालिका भित्रका असङ्गठित श्रमिकहरूलाई कोषमा आबद्ध गराई उनीहरूको सामाजिक सुरक्षा, जिवनस्तर सहजीकरण गर्दै सहाराविहीन नहुन भन्ने उद्देश्य कोष सञ्चालन गरिएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

पेन्सन कार्यक्रमले श्रमिक परिवारलाई बुढेसकालमा राहत हुने प्रमुख शर्माले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button