तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता वितरण गर्न सिडियोको टोली पुग्यो गाउँमा

अछाम ।  एक दिन बढीकाे पैदल दूरीमा रहेकाे अछामकाे विकट क्षेत्र तुर्माखाँद गाउँपालिका वडा नम्बर १ र २ मा प्रमुख जिल्ला अधिकारी सहितको टाेलीले नेपाली नागरिकताकाे प्रमाणपत्र वितरण गरेकाे छ ।

जिल्ला सदरमुकामबाट टाढा रहेको र सडक सञ्जालसंग समेत नजाेडिएकाे तुर्माखाँद गाउँपालिकाका २ वडाका २ सय जनालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । वडा नम्बर १ रहफका १ सय ३२ जना र वडा नम्बर २ भुलुका ६८ जनालाई नेपाली नागरिकताकाे प्रमाणपत्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

 

माघ ३० र फागुन १ गते विदाकाे दिनमा समेत सरकारी टाेली गाउँमै पुगेर नागरिकता प्रदान गरेकाे हाे । अरु दिन कार्यालयकाे काममा प्रभाव पर्ने कुरालाई मध्येनजर गर्दै बिदाकाे दिनमा कार्यालयकाे काम प्रभावित नहुने गरि गाउँमै पुगेर नागरिकताकाे प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयाे ।

त्यहाँबाट नागरिक आउन दैलेखकाे बाटाे भएर आउनुपर्ने, टाढा रहेकाे र आउँदाजाँदा बढी खर्च समेत लाग्ने भएकोले जिल्लाको सरकारी टाेली नै गाउँमा पुगेर जनताकाे माग अनुसार सेवा दिएकाे प्रमुख जिल्ला अधिकारी उपाध्यायले रेडियो नेपाललाई बताउनुभयो ।

नागरिकता वितरणका साथै प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा तुर्माखाँद गाउँपालिका, वडा नं. २ का सरोकारवालाहरुसँग सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया र छाउपडी प्रथाबारे सचेतना समेत गरिएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा सुविधा, नागरिकले पाउनुपर्ने सेवा, अधिकार तथा नागरिकका कर्तव्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियाे ।

साथै छाउपडी कुप्रथाबारे सचेतना फैलाउँदै सबैलाई घरमै सुरक्षित तरिकाले बस्न आग्रह गरिएको छ । यदि कसैलाई बाध्य पारेर छाउगाेठमा बस्न बाध्य पारेमा वा बसेमा मुलुकी अपराध संहिता अनुसार कारबाही गरिने समेत जानकारी गराईएकाे थियाे ।

साथै जिल्लाव्यापी अभियानको रुपमा सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता कार्यको अनुगमन गरिएको छ ।
“भुलु र रहफका सेवाग्राही तथा जनप्रतिनिधिबाट नागरिकता लिन भौगोलिक कारणले निकै कठिनाई भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयबाट १ हप्ता कर्मचारी खटाई सम्बन्धित वडामै २०० नागरिकता जारी गरी वितरण गरिएको हाे ।” प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयाे ।

अछामकाे विकट क्षेत्र भुलुमा यसअघि पहिलाे पटक तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य पुग्नुभएकाे र दाेस्राे पटक प्रमुख जिल्ला अधिकारी उपाध्याय पुग्नुभएकाे र नागरिकका गुनासाेलाई सम्बाेधन गर्नुभएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button