तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचारसंहिता, २०७७ को मस्यौदामाथि राजनीतिक दलसँग छलफल 

File Photo
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको सन्दर्भमा तयार गरिएको  निर्वाचन आचारसंहिता, २०७७ को मस्यौदा माथि सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल कार्यक्रममा आचारसंहिता, २०७७ को कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ ।
छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले अनुगमनकर्ता तथा अनुगमन समितिलाई प्रभावकारी बनाउनुपर्ने, दलको निर्वाचन खर्च पारदर्शी हुनुपर्ने, मतदान पश्चात् मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने क्रममा दल तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका सँगै आउने व्यवस्था मिलाउनु पर्ने, मतदान स्थलमा सि.सि. क्यामराको प्रयोग गर्नु पर्ने लगायतका महत्त्वपूर्ण विषयहरूमा लिखित एवं मौखिक रुपमा आयोगलाई सुझाव दिनु भयो ।
छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७७ को मसौदा माथि दलको तर्फबाट सुझाव दिनुहुन राजनीतिक दलका प्रतिनिधिहरूलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधर, आयोगका सचिव देव कुमारी गुरागाईँ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button