तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाँस आवास परियोजना प्रभावकारी

झापा । अत्यन्त विपन्न समुदायलाई लक्षित गरी झापाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बाँस आवास परियोजना प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ ।

वर्षौंदेखि फुसको सामान्य घरमा जीवन निर्वाह गर्दै आएका विपन्न परिवारका लागि एकीकृत र् छुट्टाछुट्टै रुपमा निर्माण गरिएका घरहरूको अनुगमनपछि जिल्ला स्तरीय सरोकारवालाहरू परियोजना प्रभावकारी रहेको निष्कर्षमा पुगेका हुन् ।

अन्तर्राष्ट्रिय दातृसंस्था ह्याबिट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोग र झापाको बिर्तामोडस्थित सहारा नेपालको साझेदारीमा झापाका बिर्तामोड नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका, गौरगिञ्ज गाउँपालिका लगायतका स्थानीय तहले आफ्नो पालिका समेतको लागत साझेदारीमा बाँस आवास परियोजना सञ्चालन गरेका थिए ।

विपन्न सीमान्तकृत सन्थाल समुदायलगायत आर्थिक रुपमा अत्यन्त कमजोर अन्य आदिवासी तथा मजदुर–श्रमिकका लागि स्थानीय तहहरूले जग्गा समेत उपलब्ध गराई बाँस समेतको उपयोग गरेर वातावरणमैत्री घर निर्माण गरी धेरै घर हस्तान्तरण गरिसकेका छन् भने केही निर्माण भइरहेका छन् ।

बिर्तामोडमा लगभग १५० घर भएको नमूनायोग्थ एकीकृत बस्ती बसालिएको छ । यस परियोजना अन्तरगत ५ सयभन्दा बढी घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकिएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरिले जानकारी दिनुभयो ।

आज परियोजनाको अनुगमनपछि भद्रपुरमा आयोजित समीक्षात्मक कार्यक्रममा सहभागीहरूले परियोजना प्रभावकारी देखिएको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button