वीरगञ्ज । वीरगञ्जको सडकमा छाडा चौपायालाई महानगरपालिकाले नियन्त्रण गर्न नसक्दा केही दिन यता सवारी दुर्घटना बढेको छ ।
सडकमा छाडिएका छाडा चौपायालाई जोगाउने क्रममा सवारी साधन दुर्घटनामा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।
एक्कासि सडक काट्न खोजेको छाडा चौपायालाई जोगाउने क्रममा गए राती वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ त्रिमूर्ति हल नजिकैको मेन रोडमा ना ४५ प ७१५० नम्बरको मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनाबाट मोटर साइकल चालक ४२ वर्षीय मनोज कुमार सिंह घाइते हुनुभएको छ । घाइते सिंहको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
वीरगञ्ज नगर क्षेत्रभित्र छाडा चौपायाको कारण दुर्घटनामा वृद्धि भएको र चौपायाको कारण सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको प्रहरी प्रवक्ता कुँवरले बताउनुभयो ।