तपाईँ सुन्दै हुनुहुन्छः

होमस्टे ११ महिनापछि सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टे ११ महिनापछि सुरु भएको छ । कोरोना महामारीले लकडाउनसँगै बन्द भएको होमस्टे यसै सातादेखि पुनः सञ्चालनमा आएको हो ।

रानाथारू समुदायको संस्कृति, रहनसहन र खानपानको आनन्द लिन सकिने होमस्टे सुरु भएपछि पाहुनाहरू पनि आउन थालेका छन् । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम रानाले कोरोना महामारीका कारण शून्य भएको होमस्टेमा बिस्तारै पाहुना आउने क्रममा सुरु भएको बताउनुभएको छ ।

२०७३ देखि सुरु भएको होमस्टेमा वर्षमा डेढ–दुई हजारको सङ्ख्यामा पर्यटक आउँथे । घरमै उत्पादित तरकारीदेखि कुखुरा होमस्टेमा खपत हुँदै आएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ र १६ मा पर्ने नयाँ कटानका रानाथारू समुदायका हरेक घरमा तरकारी खेती हुन्छ ।

यहाँका आठ परिवारले होमस्टे चलाएका छन् । हरेक घरमा दुई-दुई कोठामा चार-चार जना पाहुना राख्न सकिने अध्यक्ष रानाले जानकारी दिनुभयो  । उहाँका अनुसार गत वर्ष नै होमस्टेका कच्ची घरहरू भत्काएर पक्की बनाइएको थियो । लगत्तै लकडाउन सुरु भएपछि ऋण तिर्न समेत समस्या भएको अध्यक्ष रानाले बताउनुभयो ।

शुक्लाफाँटामा पनि लामो समय पर्यटकको आवागमन बन्द भएको थियो । पछिल्लो समय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । होमस्टेमा रानाथारूको परम्परागत पहिरनसँगै कला, संस्कृति पनि हेर्न पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button