अछाम । मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले स्थानीय सरकार र रेडक्रसबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभएको छ ।
उहाले जिल्लाका विभिन्न स्थानीय तहमा नेपाल रेडक्रस सोसाइटीका उपशाखाहरू रहे पनि शाखा र स्थानीय सरकारबीच तालमेल नमिल्दा रेडक्रसका गतिविधि सुस्ताएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी अछामको २८ औ जिल्ला सभामा बोल्दै नगर प्रमुख बोहराले रेडक्रस मानव सेवाको लागि कटिबद्ध भएर काम गर्ने महत्त्वपूर्ण संस्था भएकाले यस संस्थाको मूल्य र मान्यतालाई जोगाउनु पर्नेमा जोड दिँदै समाजलाई नैतिकता सिकाउने कुरामा पनि उत्तिकै जोड दिनुपर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रसका निवर्तमान केन्द्रीय सदस्य बृकेशसिंह बोगटीले विभिन्न समस्याका बाबजुद रेडक्रसले मानव सेवाका क्षेत्रमा काम गरिरहेकाले यसका गतिविधिमा थप तीव्रता ल्याउन सबै क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मंगलसैनमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका प्रदेश कोषाध्यक्ष हर्कराज शर्मा,अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बहादुर विष्ट, पत्रकार महासङ्घका कोषाध्यक्ष टेक बहादुर थापा, जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ खनाल,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र भण्डारी, षोडशा माविका प्रधानाध्यापक देवेन्द्र दुब्बे, गैसस महासङ्घका सचिव विमला शाही, बिरपथ उपशाखा सभापति टोप बहादुर शाही लगायतले मन्तव्य राख्नुभएको थियो ।
संस्थाको प्रतिवेदन मन्त्री धुर्ब कुमार शाहीले प्रस्तुत गर्नुभएको थियो,भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष टेक बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो ।