तपाईँ सुन्दै हुनुहुन्छः

झापाका १० स्थानीय तहमा पर्यटन पूर्वाधारका लागि ५० करोड

झापा । सङ्घीय सरकारले झापाको १० वटा पालिकामा पर्यटन पूर्वाधार विकासका लागि करोडौँ लगानी हुनेगरी स्थानीय तहसँग लागत साझेदारी गर्ने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले झापामा पूर्वाधार विकासमा लगानी हुन लागेको यो बजेट अहिलेसम्मकै अधिक हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन उपज विकास साझेदारी कार्यक्रममार्फत सञ्चालन हुने १० वटा परियोजनाको छनोटसमेत गरिसकेको छ ।

त्यस अनुसार भद्रपुरको साइन्स सिटीमा छ करोड ७३ लाख, दमकको इन्द्रेणी ताल संरक्षणमा रु एक करोड ५० लाख, कचनकवलमा नेपालकै होचो स्थानमा रहेको स्तम्भ तथा केचना झिल व्यवस्थापनमा रु पाँच करोड, शिवसताक्षीमा दोमुखा चिल्ड्रेन पार्क तथा स्विमिङ पुलमा रु दुई करोड, गौरीगञ्जको कोरोवारी सिमसार क्षेत्रमा रु पाँच करोड, कमलको साधुहोलीमा रु पाँच करोड, कनकाईको वनस्पति विज्ञानपार्कमा रु छ करोड ९० लाख, अर्जुनधाराको हलुवागढ पर्या–पर्यटनमा रु चार करोड तीन लाख ५५ हजार, बाह्रदशीको साधुपर्ति सिमसारमा रु पाँच करोड र हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्कमा रु पाँच करोड लगानी हुने भएको छ ।

भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले तारामण्डललगायत अहिलेसम्मका अन्वेषणमा भएका वैज्ञानिक रहस्य हेर्न र बुझ्न सकिने गरी जुत्ता आकारको साइन्स सिटी भवन बनाउन लागिएको जानकारी दिनु भयो ।

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि रानाले प्राकृतिकरुपमा मनमोहक र जैविक विविधताले भरिपूर्ण हलुवागढमा १५ मिटर लामो कृत्रिम सुरुङ बनाएर पर्यटक आकर्षित गरिने बताउनु भयो ।

सरकारको यो परियोजनामा नेपालको सबैभन्दा होचो स्थान कचनकबल पनि समेटिएको छ । यहाँ आकर्षक स्तम्भ निर्माण र नजिकको केचना झिलको व्यवस्थापन गरिने भएको छ । परियोजना अधिकांश सिमसारको संरक्षण र त्यसमा आधारित पर्यटन प्रवद्र्धनमा केन्द्रित देखिएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button