तपाईँ सुन्दै हुनुहुन्छः

गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिका भित्र रहेका १६ वटा सामुदायिक विद्यालयहरूको स्तरोन्नति गरिएको बताउनुभएको छ ।

वडा नम्बर १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८ औँ वार्षिक उत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठन पाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्त्वपूर्ण विषय भएकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले जोरपाटी–सुन्दरीजल सडक खण्डमा ढल निर्माणलगायतका कामहरू अन्तिम चरणमा रहेको र यही फागुन १९ गतेबाट सडक कालोपत्रे गर्न शुरु गरिने र अबको दुई महिना भित्र सडक कालोपत्रे पुरा गरिने जानकारी दिनुभयो ।

काठमाडौँको गुह्येश्वरीदेखि वागद्वारसम्मको क्षेत्रलाई धार्मिक पर्यटन परिपथको रूपमा विकास गरिने कार्य भइरहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख चालिसेले आगामी वैशाख १ गते मोटरसाइकलबाट वागद्वार जान सकिने बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुटाइएको बजेटको नतिजा देखिन थालेको बताउनुभयो ।

सल्लाहकार रिसालले कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागु गरिएकोमा यसको प्रभाव राम्रो देखिएको बताउनुभयो ।वडा नम्बर १ का अध्यक्ष राम मानन्धरले आफ्नो क्षेत्रमा रहेका विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताउनुभयो ।

त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षय कोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिद्वारा सम्मान

गोकर्णेश्वर नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु हुने व्यक्तिहरूलाई सम्मान गरेको छ ।

नगरप्रमुख सन्तोष चालिसे, सल्लाहकार दिपक रिसाल, वडा अध्यक्ष राम मानन्धर, प्राध्यापक डाक्टर ऋषिराम पोखरेल र समितिका संयोजक दामोदर खनालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु हुने १२ जनालाई सम्मान गर्नुभएको हो ।

योग शिक्षाको विस्तारमा योगदान गरेबापत अच्युत अर्याल, बौद्ध संस्कृति र परम्पराको विकासमा योगदान योगदान गरेबापत शंकरमान तामाङ र समाज सेवामा योगदान गरेबापत श्रीप्रसाद अर्याल, सविता चालिसे, रामचन्द्र खड्का, केशवप्रसाद चालिसे, अष्टमान श्रेष्ठ, वालकृष्ण श्रेष्ठ, नरेश मानन्धर, जगदीश पोखरेल, दिनेश बस्नेत र लक्ष्मी चालिसे सम्मानित हुनु भएको थियो ।

त्यस अवसरमा नगरप्रमुख चालिसेले मठमन्दिर, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको उल्लेख गर्नुभयो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button