तपाईँ सुन्दै हुनुहुन्छः

इरानले आणविक कूटनीतिको ‘अवसरलाई हल्कारूपमा’ लियो :युरोपेली शक्ति राष्ट्रहरू

सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कुटनीतिक ‘अवसरलाई हल्कारूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन् ।

इरानले सम्झौताको अन्तिम उल्लङ्घन गर्दै सम्झौता विपरीत युरेनियम धातु उत्पादन गर्न सुरु गरेपछि उनीहरूको यो भनाइ आएको हो ।

“सम्झौताको अवज्ञा गर्ने क्रममा इरानले सन् २०१५ को आणविक सम्झौताका लागि गरिएको संयुक्त वृहत् कार्ययोजना (जेसीपीओए) का उद्देश्यहरू पूर्ण रूपमा कार्यान्वयन नगरेर कूटनीतिक सम्बन्ध स्थापना गर्ने नयाँ अवसरलाई कम आँकलन गरिरहेको छ,” बेलायत, फ्रान्स र जर्मनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले तेहरानको आणविक कार्यक्रमसम्बन्धी सन् २०१५ मा भएको सम्झौतालाई नयाँ वार्ता र छलफलबाट पुनः जीवन दिने आशा विश्व समुदायले गरिरहेका समय तेहरानले यसका लागि कुटनीतिक पहल अघि बढाउनुको सट्टा एकपछि अर्को गर्दै सम्झौताका शर्तहरूलाई उल्लङ्घन गरेको यी यूरोपेली मुलुकहरूले ठहर गरेका छन् ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा विश्वका प्रमुख शक्ति राष्ट्रहरू अमेरिका, चीन, रूस, बेलायत, फ्रान्स, जर्मनीले इरानसँग आणविक हतियार नियन्त्रणका लागि सम्झौता गरेका थिए । सन् २०१८ को जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता आफ्नो मुलुकको हितमा नभएको दावी गर्दै यसबाट फिर्ता भएको घोषणा गर्नुभएको थियो । उहाँले सम्झौताबाट फिर्ता हुँदै इरानमाथि पहिलेभन्दा आर्थिक नाकावन्दीलाई कडा पार्नुभएको थियो ।

अमेरिकी उक्त कदमपछि इरानले अमेरिका सम्झौताबाट फिर्ता भएको अवस्थामा यो सम्झौतालाई आफूले मात्रै मान्न नसक्ने भन्दै क्रमशः सम्झौताका शर्तहरूलाई उल्लङ्घन गर्दै आएको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button