२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सन्दर्भ विश्व रेडियो दिवस :  रेडियो नसुनी निन्द्रा पर्दैन 

चिरञ्जीवी मास्के २०७७ फागुन १ गते ८:५३
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ४ कोलपोखरेका नवराज दाहालको उमेर अहिले ६० बर्ष भयो । राष्ट्रिय वाणिज्य बैङ्कबाट सेवा निवृत्त भएका दाहालको दैनिकी रेडियोको आवाजबाट सुरु हुन्छ ।
म त एक दिन रेडियो सुन्न पाइन भने पागल जस्तै हुन्छ, दहालले भने – राति निन्द्रा पनि पर्दैन । बिहान चार बजे उठ्ने दाहालको घरमा पाँच बजेबाटै रेडियो बज्न सुरु हुन्छ । काम गर्दाको समयमा समेत रेडियो सुन्न सकियोस भनेर आफूले घरको बार्दलीमा स्पिकर राखेर रेडियो बजाउने गरेको दाहालको भनाई छ । २०४८ सालदेखि रेडियो सुन्ने लत बस्यो, दहालले भने – अब त गाउँघरमै खेतिकिसानीमा दिन बित्ने भएकोले रेडियो दुःख सुखको साथी नै बनेको छ ।
अहिले नेपालको हरेक भेगमा रेडियो निक्कै लोकप्रिय भएको छ । विशेषगरी नेपालको ग्रामीण क्षेत्रमा रेडियो लोकप्रिय भएको अध्यनहरुले देखाएको छ । देश विदेशको सूचना तत्कालै थाहा पाइने र सजिलै सुन्न सकिने भएकोले पनि नेपालको ग्रामीण क्षेत्रमा रेडियो निक्कै लोकप्रिय भएको नवराज दाहाल बताउनुहुन्छ  ।
दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर १ कालिन्चोक क्याम्पलका कर्णबहादुर थामीको पनि अहिले रेडियो नै साथी भएको छ । पढ् लेख नभएपनि आफ्नो गाँउमा राजनीति र समाजसेवामा समेत सक्रिय ५९ वर्षीय कर्णबहादुर रेडियोको सन्देश नसुनी चियाको चुस्की समेत लगाउँदैनन् ।
म त बिहान उठेर सात बजेसम्म रेडियोमै रमाउँछु अनिमात्र मुख धुने र अरू दैनिकीमा लाग्ने जाँगर पलाउँछ – कर्णबहादुरले भन्नुभयो । पढ लेख नभएपनि स्थानीय विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेको र त्यसको लागि रेडियोले गुरुको काम गरेको उनको भनाई छ । रेडियोका समाचार, सन्देश, ज्ञानगुणका कुराले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्न सजिलो बनाएको कर्णबहादुरको अनुभव छ ।
दोलखा बैतेश्वर गाउँपालिका स्थित नाम्दु खम्पाचौरको मैया घिमिरेको दैनिकी पनि रेडियो सुनेरै बित्ने गरेको छ । सानै उमेरमा आगोले जलेर पीडामा रहनु भएको ४० बर्षीया मैया रेडियोका विभिन्न कार्यक्रम सुनेर आफ्नो पीडा भुल्ने गरेको बताउनुहुन्छ  । दुःख–पीडा भुल्ने अरू कुनै उपाय नै छैन मैयाले भनिन् – त्यसैले रेडियोका विभिन्न कार्यक्रममा भुलेर पीडा लुकाउने गर्छु ।
नेपालमा सामुदायिक र व्यवसायीक गरी झन्डै सात सय रेडियो प्रशारणमा रहेका छन् । त्यसमा झन्डै चार सय वटा सामुदायिक रेडियो रहेको सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) का केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का बत्ताउँछन् । नेपालमा प्रशारणमा रहेको चार सय सामुदायिक रेडियोहरू मध्य तीन सय ६० वटा रेडियो सामुदायिक रेडियो प्रसारक सङ्घमा दर्ता भएको खड्काले बताउनुहुन्छ ।
नेपालको सहरी क्षेत्रमा पत्रपत्रिका र इन्टरनेटको सहज पहुँचले रेडियोको लोकप्रियता कम रहेको भएपनि ग्रामीण क्षेत्रमा भने अत्यधिक लोकप्रिय बनेको अकोरावका केन्द्रीय कोषाध्यक्ष खड्का बत्ताउँछन् । कोरोना महामारी पछि नेपालमा रेडियोको लोकप्रियता झन् बढेको खड्काले बताउनुभयो ।

सम्बन्धित