तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश : तेस्रो स्थापना दिवसको सम्पूर्ण तयारी पूरा

फाइल तस्बिर

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ देउखुरीमा मनाउने प्रदेशको तेस्रो स्थापना दिवसको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सचिव रविलाल पन्तले फागुन २, ३ र ४ गते आयोजना गर्न लागिएका कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा हुने मूल समारोहको कार्यक्रम देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुनेछ ।

सो कार्यक्रममा प्रदेश सरकारले यसअघि घोषणा गरेका ५८ वटा पदक वितरण गरिनेछ ।
प्रदेश सरकारले स्थापना दिवस मनाउनका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा स्थापना दिवस व्यवस्थापन समिति गठन गरिएको छ ।

मन्त्री केसीको अध्यक्षतामा बसेको बैठकले फागुन २, ३ र ४ गते देउखुरीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेशका १२ वटै जिल्लाहरूको सहभागिता हुने गरी स्थापना दिवसको तयारी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले जानकारी दिनुभयो ।

स्थापना दिवस देउखुरीमा गरिने भए पनि त्यसका सबै तयारी बुटवलबाटै गरिने भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।

स्थापना दिवसको अवसरमा फागुन २ गते स्थानीय तहमा सरसफाइसँग सम्बन्धित कार्यक्रम, ३ गते विशेष समारोहका साथै विभिन्न व्यक्तिलाई पदक प्रदान एवम् ४ गते प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षणमूलक कार्यक्रमको आयोजनासहित दीपावली गरिने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button