तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादित तरकारी बिक्रीको थलो बन्दै हाटबजार

टीकापुर। कैलालीको टीकापुरमा सञ्चालित तरकारी हाटबजारमा दैनिक ३०० भन्दा बढी किसान स्थानीयस्तरमा उत्पादित तरकारी बिक्रीका लागि आउने गरेका छन् । हाटबजारमा ताजा र स्थानीयस्तरमा उत्पादन भएको अग्र्यानिक तरकारी पाइने भएपछि उपभोक्ताको भीड लाग्ने गरेको छ । हाटबजारलाई व्यवस्थित गर्न टीकापुर नगरपालिकाले ब्लक नं ११ मा तरकारी राख्ने सेड निर्माण गरेको छ । “नगरपालिकाले निर्माण गरेका सेड अलि अग्ला छन्, यसलाई व्यवस्थित गर्न आवश्यक छ”, टीकापुर–४ अस्नेहरीका राजेश चौधरीले भन्नुभयो, “हाटबजारमा घरमा उत्पादन भएको तरकारी ल्याएर बिक्री गर्न सहज भएको छ । थोरै बारीमा खेती गरेका किसानले आफूलाई बढी भएको तरकारीसमेत बिक्री गर्न सजिलो भएको छ ।”

टीकापुर–१ वनगाउँ दक्षिणपुरुवाकी जुग्रीदेवी चौधरीले चार कठ्ठा जग्गामा तरकारी खेती गरेमा वर्षभरि हाटबजारमा तरकारी बिक्री गरेर गुजारा चलाउन सकिने बताउनुभयो । “व्यावसायिक खेती गरेर हाटबजारमा बिक्री गरेर घर चलाउन सकिन्छ”, जुग्रीदेवीले भन्नुभयो, “हाटबजार तरकारी बिक्री गर्ने सजिलो माध्यम बनेपछि धेरै किसान व्यावसायिक बनेका छन् । अधिकांशले दुई÷चार कठ्ठामै खेती गरेर मनग्य कमाइरहेका छन् ।”

हाटबजारका लागि भनेर कृषि ज्ञान केन्द्र महेन्द्रनगरले एउटा र टीकापुर नगरपालिकाले तीन गरी चारवटा सेड निर्माण गरिएको छ । तरकारी बिक्री गर्ने किसान बढ्दै गएपछि रु ४५ लाखको लागतमा निर्माण गरिएका सेड व्यवस्थित बनाउने काममा टीकापुर नगरपालिका जुटेको छ । ज्ञानी कुला फाटेर बनेको बीच भागमा सेड बनाएर स्थायी कृषि हाटबजारको योजना नगरपालिकाले बनाएको हो ।

हाटबजार मङ्गलबार र शुक्रबार गरी हप्ताको दुई दिन लाग्छ । दुई सय ५० देखि ३०० किसान र व्यापारी तरकारी, माछा र नास्ताका पसल त्यहाँ आउने गरेका छन् । हाटबजारमा व्यवसाय गरेवापत रु १० देखि ५० शुल्क तिर्नुपर्छ । तरकारी बिक्री गर्नेले रु १० देखि २० र माछा र होटलले रु ५० शुल्क तिर्नुपर्छ । “एक दिनमा रु तीन हजार ५०० देखि तीन हजार ८०० शुल्क उठ्छ”, शुल्क बुझ्ने कर्मचारी नैनाकुमाल चौधरीले भन्नुभयो, “तरकारी पाइने सिजनमा ३०० कृषक हाटबजारमा आउँछन् ।”

टीकापुर नगरपालिकाका कृषि शाखाका प्रमुख तुलसी सुवेदीले हाटबजारस्थल व्यवस्थित गर्न माटो पटानी गर्न थालिएको बताउनुभयो । उहाँले ज्ञान केन्द्र महेन्द्रनगरले अर्काे तरकारी बिक्री गर्ने सेड निर्माण गरिदिने बताउनुभयो । “कुला सोझ्याउनु पर्नेछ, शौचालय निर्माण गर्दैछौँ”, सुवेदीले भन्नुभयो, “हाटबजारका लागि गुरुयोजना निर्माण गरेका छौँ, यतिखेर मोटरसाइकल, साइकल राख्ने ठाउँ निर्माणमा जुटेका छौँ ।”

दैनिक सयौँ उपभोक्ताको खरिद केन्द्रका रूपमा तरकारी हाटबजारको विकास हुँदैछ । हाटबजारमा स्थानीय कृषकले आफ्नो उत्पादन हाटबजारमा बिक्री गर्न ल्याउने गरेका छन् । यो हाटबजारबाहेक जमरापारि बुधबार र शनिबार पनि टीकापुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजारलाई क्रमशः व्यवस्थित गर्ने योजना बनाएर ट्रस निर्माण गरिएको नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो ।

“खरिद गर्न सजिलो होस् भनेर ट्रसको वरिपरि बाटो बनाउने, माटो पटानी र अन्य पूर्वाधार निर्माणको काममा चरणबद्ध लागका छौँ”, नगरप्रमुख रावलले भन्नुभयो, “हाटबजार व्यवस्थित गर्न रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग पनि छलफल भइरहेको छ, नगरपालिकाले आफ्नै स्रोतबाट पनि केही काम छिट्टै गर्छ ।”

“हाटबजारकै कारण तरकारी उत्पादक किसानले मूल्य पाएका छन्, किसानले आफ्नो उत्पादन आफैँ बेच्न पाउने वातावरण बनेको छ यसलाई व्यवस्थित गर्न जरुरी छ”, किसान शेरबहादुर साउदले भन्नुभयो, “तरकारी बिक्रीका लागि बनाएका सेड व्यवस्थित गर्नुपर्छ । अरु ठाउँबाट बजेट रकमान्तर गरेर भए पनि हाटबजारलाई सके जति व्यवस्थित गर्न जरुरी छ ।”रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button