तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावले हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण अलपत्र

जुम्ला । जुम्लाको पूर्वमा अवस्थित पातारासी गाउँपालिकाको छुमचौरमा निर्माण हुने ‘हाईअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण बजेट अभावले अलपत्र परेको छ । आर्थिक बर्ष २०७४/०७५ मा करिब ३२ करोड ३ लाख लागतमा डिपिआर तयार गरिएको उक्त आयोजना बजेट अभावले बिचबाटै निर्माण अलपत्र भएको हो ।
अहिले सम्म करिब ५५ लाख बजेट खर्च गरेर गरेर फिल्ड मात्रै समथर बनाउने काम भएको छ । सुविधा सम्पन्न भवन निर्माण हुने, खेलमैदान निर्माण हुने भए पनि सबै संरचना अहिले अलपत्र छन् ।
बहुवर्षिय योजनाका रुपमा हेरिएको ‘हाईअल्टिच्युट ट्रेनिङ सेन्टरलाई तीन तहबाट आवश्यक बजेट नजुट्दा निर्माण कार्य अघि बढाउन मुस्किल परेको छ ।
अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ७५ लाख बजेट विनियोजन गरेको हो । विनियोजित बजेट मध्ये २१ लाख खर्च भएको र ५४ लाख बजेट फ्रिज गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चालु  आवमा कर्णालीको सामाजिक विकास मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको छ । बजेट आएपनि चालु आवको दोस्रो चौमासिक बित्न लागिसक्दा सम्म कुनै कामको सुर छैन । यो बजेट पनि फ्रिज जाने हो कि भनेर शङ्का लाग्न थालेको छ ।”
२ हजार ८ सय मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर (खेल मैदान) निर्माण गर्नका लागि डिपिआर बनाएको हो ।
‘विश्व अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रकर्डेड स्थान छुमचौरमा बन्ने खेलमैदानले पर्यटक पनि आकर्षण गर्ने र खेल क्षेत्रको विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने आशा गरिएको थियो ।
नेपालकै गौरवको आयोजना हाइअल्टिच्यूट खेल मैदान निर्माणका लागि डिपिआर तयार हुँदा पनि यहाँका स्थानीय तहले निर्माणका लागि कुनै चासो नदेखाएको पाइएको छ ।
नयाँ खेलाडी उत्पादन गर्न, दैनिक अभ्यास गर्न मैदान अत्यावश्यक हुँदा कर्णाली सरकार र स्थानीय सरकारले चासो नदिनु दुखद पक्ष भएको नागरिक समाजका अगुवा राज बहादुर महतले बताउनुभयो । हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर निर्माणमा बजेट जुटाउन सबै सरोकारवाला जुट्नुपर्ने उहाँको जोड छ ।
केके बन्दै छन् संरचना ?
हाइअल्टिच्यूट ट्रेनिङ सेन्टरमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्यान्दो, बास्केट बल, एथलेटिक्स लगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गर्ने डिपिआरमा उल्लेख गरिएको छ । त्यसै गरी तातो चिसो पानी भएको स्विमिङ पुल, लैङ्गिक मैत्री छात्रावास, सुरक्षा गार्ड, पाहुना घर, टिकट काउन्टर लगायतका विभिन्न संरचनाहरू निर्माण हुने डिपिआरमा उल्लेख छ ।
तर  डिपिआर बनेको ३ आर्थिक बर्ष बितिसक्दा निर्माण कार्य शून्य अवस्थामै छ । बजेट व्यवस्थापनका लागि सङ्घ प्रदेश सँग पहल गरिरहेको कार्यालय प्रमुख महतले उल्लेख गर्नुभयो ।
साथै, १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रयोगमा ल्याउने गरी कर्णाली प्रदेशको जुम्लामा बनिरहेको भलिबलको प्याराफिट पनि बजेट अभावले अलपत्र भएको छ । एक करोडको लागतमा डिपिआर भएको प्याराफिट निर्माणमा बजेट अभाव देखिएको हो । श्रमदानसहित २६ लाख बजेटमा निर्माण कार्य सुरु भएको थियो । थोरै बजेटले जग मात्रै बसाल्ने काम भएको छ ।
यता सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलवीर सुनारका अनुसार विकासे बजेटको कटौतीको कुरा चलेको छ । यसअघि २५ लाख प्याराफिट र ५० लाख हाइअल्टिच्यूट खेल मैदानका लागि बजेट विनियोजन भए पनि कार्य सञ्चालनमा अनुमति नपाएकाले काम नभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button