तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा लगानी सम्मेलनको तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी चैतको १९ र २० गते लगानी सम्मेलन गर्ने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणपछि थलिएको आर्थिक क्षेत्रलाई माथि उठाउन बुधवार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताउनुभयो ।
सम्मेलनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्य रहेको तयारी समिति गठन गरिएको चौधरीले जानकारी दिनुभयो । यस्तै हाल कोरोना सङ्क्रमणको जोखिम रहिरहेकोले प्रदेशका चार वटा आइसोलेसन केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि आगामी चैत्र मसान्त सम्मको म्याद थप गरिएको छ ।
मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्रबहादुर जिसीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । जिसी हाल नेकपा लुम्बिनी प्रदेशका सदस्य एवं प्रचार विभाग प्रमुख रहनुभएको छ ।
जिसीलाई राज्यमन्त्रीसरहको सेवा सुविधा दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो । त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button