तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा-सिमरा हवाई उडान चैत्र १५ गतेदेखि सुरु हुने 

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रदेश नं. २ को जितपुर सिमरा सिधा हवाई उडान सञ्चालन हुने भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बसेको मन्त्री स्तरको बैठकले पोखरादेखि सिमरा यहीँ चैत्र १५ गते फागु पूर्णिमाको दिन जहाज सञ्चालन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई सात वटै प्रदेशसँग सिधा हवाई सम्पर्कसँग जोड्ने प्रदेश सरकारको उद्देश्य अनुरूप पोखरा—सिमरा विमान सञ्चालन गर्ने तयारी गरिएको हो ।
चैत्र १५ गते परीक्षण उडानसँगै अब पोखराबाट सिमरा हप्ताको ३ दिन अर्थात् आइतबार, बुधवार र शुक्रवार नियमित उडान हुनेछ ।
यति एयरलाइन्सले उडान भर्ने पोखरा—सिमराको भाडा दर चार हजार पाँच सय तत्कालको लागि कायम गरिएको छ ।
पोखरा देखि सिमरा ३० मिनेटको हवाई यात्रा हुनेछ ।
पोखरा—सिमरा विमान सञ्चालनपछि दुई प्रदेशको व्यापारिक सम्बन्ध विस्तार हुने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो ।
दुई प्रदेशबीच सीधा हवाई सेवा सञ्चालनपछि यस क्षेत्रको पर्यटन तथा आर्थिक क्रियाकलाप समेत बढ्ने उहाँले बताउनुभयो ।
मन्त्री लम्सालले भारतीय नाकाबाट नेपाल भित्रने भारतीय तथा अन्य देशका पर्यटकहरूलाई यो हवाई सेवा लाभदायी हुने बताउनुभयो ।
अन्य प्रदेशमा पनि छिट्टै नै हवाई सेवा सुचारु गर्ने गरी प्रदेश सरकारले तयारी गरेको मन्त्री लम्सालको भनाई छ ।
पोखरा—सिमरा विमान सञ्चालनसँगै सिमरास्थित बन्द नेपाल—भारत बोर्डर पर्यटकका लागि तत्काल खुल्ला गर्न नेपाल सरकारसँग अनुरोध गर्ने तयारी समेत गरिएको छ ।
पोखरा—सिमरा विमान सञ्चालनमा ल्याउने भएसँगै पोखरा विमानस्थलले आवश्यक पर्ने प्राविधिक तयारी थालेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो ।
पोखरा—सिमरा विमान उडानको प्रचार प्रसार तथा आगन्तुकको स्वागतका लागि पोखरा महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, जितपुर सिमरा उद्योग वाणिज्य सङ्घ तथा पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घ संस्थाले व्यवस्थापन गर्ने छन् ।
उक्त बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.विष्णुराज बराल, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी, जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, यति र तारा एयरलाइन्सका वरिष्ठ निर्देशक सरल शमशेर जबरा, उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइराला, उद्योग वाणिज्य सङ्घ जितपुर सिमराका अध्यक्ष सञ्जय कुमार शाह, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई तथा पर्यटन व्यवसायी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button