तपाईँ सुन्दै हुनुहुन्छः

सरस्वती पूजाको उत्साह, मूर्तिकार मूर्तिलाई अन्तिम रूप दिन व्यस्त

सप्तरी । सरस्वती पूजा आउन अब ५ दिन मात्र बाँकी हुँदा सप्तरीका मूर्ति कलाकारहरूलाई मूर्ति बनाउन भ्याइ नभ्याई छ ।

मूर्तिको अर्डर बढ्न थालेपछि ग्रामीण र सहरी क्षेत्रका दर्जनौँ मूर्तिकार अहिले माटाका सरस्वतीको मूर्ति बनाउन र अन्तिम रूप दिन व्यस्त भएका छन् ।

दिनहुँ जसो अर्डर आउने गरे पनि अहिलेसम्म ४९ वटा मात्र मूर्ति बनाउन सकेका छन् राजविराज–७ का घुरण सरदार माझी । उमेरले ५० वर्ष नाघेका माझी बास, पराल, माटो र रङ्गको संयोजन गरेर मूर्ति बनाउँछन् ।

उनले मूर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्मका सरस्वतीका मूर्ति बनाएका छन् । सबै अर्डरको हो, उनले भने, तर अर्डर आए जति बनाउन सकिएको छैन ।

त्यस्तै विष्णुपर गाउँपालिका–६ का अर्का मूर्तिकार श्याम मुखियाले भने, अर्डर धेरै आएको छ तर चिसोले गर्दा चाहे जति बनाउन सकिएको छैन । मूर्ति कला प्रति युवाहरूको आकर्षण घट्दै गएकोले पनि समस्या भएको उनको भनाइ छ । प्रति ट्याक्टर एक हजार दुई सयका दरले माटो खरिद गर्नु पर्ने र मूर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिँगारका सामान पनि  महँगो भएकोले यस पल्ट मूर्तिको लागत मूल्य बढी पर्न गएको मुखियाको भनाई छ ।

बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा रही आएको छ ।

यस पूजाको तयारीका लागि विद्यार्थी, अभिभावक र विद्यालयका सञ्चालक सबै उत्साहका साथ जुटेका छन् । यस पटक सरस्वती पूजा आगामी मङ्गलवारका दिन परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button