कञ्चनपुर । कञ्चनपुरमा विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारबाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालु आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको जनाएको छ ।
यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, बहु विवाह, लागु औषध र जबरजस्ती करणी उद्योगका दोषी बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भएको छ ।
जिल्लामा सक्रिय रूपमा अदालतबाट दोषी ठहर भएका र अनुसन्धानका क्रममा भागेका फरारको खोजी भइरहेको उहाँले बताउनु भएको छ । उहाँले पक्राउका लागि जिल्लामा सादा पोसाकमा समेत प्रहरी परिचालित गरिएको बताउनुभयो ।
विभिन्न घटनाका अभियुक्तलाई पुर्पक्ष र कैद सजाय तोकिएका अभियुक्त बढ्न थालेपछि कञ्चनपुर कारागारमा ३ सय ९६ कैदी बन्दी रहेका जेलर माया बस्नेत थापाले बताउनु भएको छ ।
जिल्ला कारागार कञ्चनपुरमा ७० पुरुष २० महिला कैदी बन्दी राख्ने क्षमता रहेको भए पनि क्षमताभन्दा धेरै बढी रहेका छन् ।