तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा हुने जनसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

 

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन १ गते बुटवलमा गर्न लागेको वृहत् जनसभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेललगायतले सम्बोधन गर्ने सो सभामा दुई लाख सहभागिता गराउने जनाइएको छ ।

स्थायी कमिटी सदस्य तथा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको पक्षमा आम नागरिकलाई सन्देश दिन जनसभाको आयोजना गरिएको बताउनुभएको छ ।

जनसभा तयारीका विषयमा लुम्बिनी प्रदेश प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनमतमा जाने लोकतन्त्रको सुन्दर पक्षविरुद्धको भ्रम चिर्न जनसभा आयोजना गरिएको बताउनुभयो ।

नेता पोखरेलले प्रचण्ड–माधव समूहले समीकरणको नाममा पार्टीभित्र बनाइएको गुटले जनमतको अपहरण गरेको बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा विघटन कारण नभई उहाँहरूले बनाएको चौतर्फी घेराबन्दीको परिणाम भएकोले सीमित व्यक्तिको लागि गरिएको यस्तो परिबन्धले सिङ्गो संरचनालाई ध्वस्त बनाउने भएकाले ताजा जनादेशमा जाने निर्णय भएको धारणा राख्नुभयो ।

प्रधानमन्त्रीलाई कमजोर बनाउने दलीय अभ्यासविरुद्धको सोचलाई चिर्न देशव्यापी जनसभा गरेर आम नागरिकलाई सचेत बनाउन थालेका बताउँदै उहाँले प्रधानमन्त्री बलियो बन्दा मात्र अहिलेको संरचना बलियो बन्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले नेता प्रचण्ड माओवादी जनयुद्धबाट विचलन भएकाले पूर्वमाओवादीको परिवर्तनकारी समूह र लडाकुहरूको समूह ओली समूहमा लागेको उहाँको धारणा थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button