पोखरा । नेपाली सेनाले गण्डकी प्रदेश स्तरीय भूतपूर्व सैनिक सम्मेलन, २०७७, आयोजना गरेको छ ।
कोरोना कहरका कारण गत वर्ष स्थगित गरिएको भूतपूर्व सैनिक सम्मेलन जनजीवन सहज बन्दै गएकाले नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा आज नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखरामा सीमित सङ्ख्यामा कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्मा सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त अधिकृत, भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले भूतपूर्व सैनिक र बहालवाला सैनिकबिच सामिप्यता बढाउन सम्मेलन प्रभावकारी रहेको बताउनुभयो ।
उहाँले भूतपूर्व सैनिकहरूका लागी योजनाबद्ध ढङ्गले कल्याणकारी योजनाहरू अगाडि ल्याएको बताउनुभयो ।
नेपाली सेनाको अवकाश प्राप्त जीवनपछि गरिएको मजदुरीले जीवन गुजारा नचलेर छोराछोरी विदेशमा श्रम बेच्न बाध्य हुनु दुःखद रहेको भन्नुहुँदै प्रधानसेनापति थापाले भूतपूर्व सेनाहरूलाई अवकाश प्राप्त पछि स्वरोजगार कार्यक्रम मार्फत आवश्यक सीप, पुजी उपलब्ध गराउने वातावरण सृजना गरेको बताउनुभयो ।
कार्यक्रममा ९६ वर्षीय सिपाही मनीराज थापा, ९९ वर्षीय नरकुमारी थापा मगर, सर्वोत्कृष्ट लघु व्यवसायी स्मृति शर्मा वाग्ले र चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो । सो अवसरका चार वा सो भन्दा बढी सन्ततीहरुलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना बाबु–आमालाई सम्मान गर्नुका साथै असक्त तथा फरक क्षमता भएकाहरूलाई ह्वील चियर, वैशाखीका साथै उद्यमशील कर्जा प्रदान गरिएको थियो ।
कार्यक्रममा कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुल, अवकाश प्राप्त सैनिकको तर्फबाट पूर्व रथी अमर पन्त, बलाधिकृत रथी प्रभुराम शर्माले कल्याणकारी कोषको विस्तार र विविधीकरणले भूतपूर्व सैनिकलाई हर्षित बनाएको बताउनुभयो ।