तपाईँ सुन्दै हुनुहुन्छः

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार सचिवको आग्रह

May be an image of 3 people, people standing and people sitting

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले रेडियो नेपालमा कार्यरत पत्रकारहरूले प्रसारण क्षेत्रमा व्यावसायिकता विकास गर्दै प्रतिस्पर्धात्मक बन्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाको सिंहदरबारमा आज भएको साधारण सभामा सचिव बस्यालले प्रसारण क्षेत्रमा लामो इतिहास बोकेको रेडियो नेपालले जनतामा जागरण ल्याउने खालका सकारात्मक सन्देश प्रवाह गर्न जिम्मेवार र लगनशील भएर लाग्नु पर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले प्रसारण पत्रकारितालाई प्रभावकारी बनाउन रेडियो नेपाल जिम्मेवार भएर लागिरहेको बताउनुभयो ।

उहाँले सरकारले पत्रकारको हकहितका लागि तोकेको मापदण्डहरू रेडियो नेपालको स्रोत साधनले भ्याएसम्म पुरा गर्न प्रयासरत रहेको समेत बताउनुभयो ।

कार्यक्रममा रेडियो प्रसार सेवा विकास समितिका सदस्य एवं रेडियो नेपालको कार्यक्रम महाशाखाका प्रमुख टिका भण्डारीले रेडियो नेपालका पत्रकारहरूले जिम्मेवार ढङ्गले सन्देश प्रवाह गर्न सदैव लागिरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव प्रकाश थापाले पत्रकार महासङ्घले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा जान लागेको भन्दै सक्षम नेतृत्व चयनका लागि सबैलाई अवसरको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घका रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाँलले पत्रकारको हकहित संरक्षणका लागि पत्रकार महासङ्घ रेडियो नेपाल शाखा सदैव लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button