तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रणका लागि सम्वद्ध निकायहरू कडाइका साथ प्रस्तुत हुनु आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि सम्वद्ध निकायहरू कडाइका साथ प्रस्तुत हुनु आवश्यक रहेको बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औ स्थापना दिवस समारोहलाई  आज काठमाडौँमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरूको दुरुपयोग भई समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने भएकोले भ्रष्टाचार नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुनु पर्ने आवश्यकता औँल्याउनु भएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्न समग्र समाज नै अघि बढ्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदन मार्फत सुझाएका सार्वजनिक हित र सरोकारका विषयहरूको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकारले तदारुकताका साथ काम गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले भ्रष्टाचार विरुद्ध आयोगमा परेका उजुरी र अभियोगको छानबिन र अभियोजनमा आयोगले निष्पक्षता, तटस्थता र निर्भयतालाई मूल मन्त्र मानेर कार्य गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले ५ बर्षे रणनीतिक योजनासहित आयोगले भ्रष्टाचारका मुद्धाहरुको अनुसन्धानको काम अघि बढाएको उल्लेख गर्नु भयो ।

उहाँले विकास निर्माणका काममा लागत स्टिमेटमा तलमाथि गर्ने र मिलेमतो गर्ने जस्ता प्रवृत्तिलाई छानबिनको दायरामा ल्याउने उल्लेख गर्नु भयो ।

कार्यक्रममा आयोगका आयुक्त डा. सावित्री थापा गुरुङले आयोगले राज्यको साधन र स्रोतको वाँडफाड अनुरूप वितरण भए नभएको सम्बन्धमा आयोगले सचेतका साथ हेरिरहेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अनुसन्धान र कर्मचारी प्रशासनमा उत्कृष्ट काम गर्ने विभिन्न कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नु भएको थियो ।

 

   

प्रतिक्रिया राख्नुहोस्

Back to top button