तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली सरकारले मिडियालाई आर्थिक सहयोग गर्ने 

सुर्खेत ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सञ्चार क्षेत्रसँग सम्बन्धित पूर्वाधार विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासङ्घ, सुर्खेत शाखाको मङ्गलवार २५ औँ वार्षिक साधारण सभामा बोल्नुहुँदै उहाँले प्रदेशमा स्थापित एफएम, रेडिया, केबल टेलिभिजन र सिनेमा हललाई एक/एक लाख रुपैयाँ प्रदान गरिने जानकारी दिनुभयो  । उहाँका अनुसार छापा माध्यमलाई भने कति दिने भन्ने बारेमा छलफल भइरहेको छ ।

सभाको अवसर पारेर नेपाल पत्रकार महासङ्घ, सुर्खेत शाखाले आफ्ना ८ जना सदस्यलाई विभिन्न विधामा पुरस्कृत गरेको छ ।

शाखाले १० हजार राशिको विकास तथा शान्ति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालका भानुभक्त खड्का, कान्तिपुर चाँदनी कठायत, डम्मर आचार्य र  देवीराम देवकोटासँगै १० हजार राशिकै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट मानबहादुर ओली र खिम बुढालाई प्रदान गरेको छ ।

त्यस्तै ५ हजार राशिको वर्ष पत्रकारिता पुरस्कार ललितबहादुर बुढा र मधुवन बिसीसँगै ५ हजार राशिकै नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार गीता थापालाई प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button