तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षणको अभावमा लोप हुँदै पञ्चेबाजा 

जाजरकोट  । गाउँ घरमा घन्किने नौमती तथा पञ्चे बाजा हिजो आज संरक्षणको अभावमा लोप हुँदै गइरहेको छ ।

यसको संरक्षणमा कसैले पनि खासै चासो दिएको देखिँदैन । ग्रामीण क्षेत्रमा समेत कमै मात्र पञ्चे बाजा बज्ने गरेको पाइन्छ ।

कुनै समय दमाई जातीको पुर्ख्यौली पेसाको रुपमा रहेको पञ्चेबाजाबाट कतिले परिवारको गुजारा समेत चलाउँदै आएका थिए । तर अहिले पछिल्लो समय संरक्षण हन नसक्दा परम्परागत बाजा लोप हुँदै गएको देखिन्छ ।

यसलाई संरक्षण गर्न कसैले पनि चासो दिएको पाइँदैन । सार्वजनिक कार्यक्रम लगायत विभिन्न औपचारिक कार्यक्रम, मेला, पर्व र पूजाहरुमा यो बाजा बजाउने गरिन्छ ।

मौलिक संस्कृति बोकेका बाजा हराउन थालेको बाजा प्रेमी ऐनबहादुर परियारले बताउनुभयो । विभिन्न औपचारिक कार्यक्रममा सामूहिक रुपमा बाजा बजाउने गरिएको भए पनि आधुनिक बाजा र सङ्गीतका कारण परम्परागत बाजा सङ्कटमा परेपछि केही युवाले भने निजी लगानी गरेर बाजा संरक्षण अभियान थालेको देखिन्छ ।

अहिलेको आधुनिक युगमा यसको के महत्त्व होला जस्तो लागे पनि बाजा बजाउन युवा पुस्तालाई जागरुप गराउनुपर्दछ । अहिले परम्परागत कला र संस्कृतिको संरक्षणका लागि व्यावसायिक रुपमा बाजा संरक्षणमा जोड दिन आवश्यक भएको अर्का बाजा प्रेमी डिल्ली दमाईंले बताउनुभयो । बाजा संरक्षणका लागि स्थानीय सरकारको पनि ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।

दमाहा, तबला, झ्याली, सनाही र नरसंघा गरी पाँच प्रकारका पञ्चेबाजा संरक्षण अभावमा छन् । बाजासँगै विभिन्न सांस्कृतिक परम्परा जोगाउन विभिन्न अभियान सञ्चालन गरेर युवा पुस्तालाई रोजगारी सिर्जना गर्नु आवश्यक छ ।

बाजा हराए हाम्रो कला, संस्कृति र संस्कार हराउने भएकाले यसको संरक्षणका लागि पहल गर्न सबै लाग्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button