तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको अर्थमन्त्रीको भनाई

काठमाडौँ । सरकारले चालु आर्थिक बर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बाँकी आगामी ६ महिनामा सुधार भई आर्थिक वृद्धि औसतमा रहने अनुमान गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बिच सार्वजनिक गर्दै चालु आर्थिक वर्षको सुरुबाट नै आर्थिक क्रियाकलाप सामान्य अवस्थामा नर्फकदा त्यसको असर आर्थिक वृद्धिमा परेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले पछिल्लो समय कोभिड १९ विरुद्धको खोप लगाउन सुरु भएको, उद्योग व्यापार व्यवसाय, आवागमन, सेवा क्षेत्र सामान्य उन्मुख भई अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको बताउनु भयो ।
अर्थ मन्त्री पौडेलले ६ महिनाको अवधिमा मुलुकको मुद्रास्फिती नियन्त्रणमा रहेको, निर्यात ६.१ प्रतिशतले बढेको तथा आयात ४.८ प्रतिशतले घटेको उल्लेख गर्नु भयो ।
अर्थमन्त्री पौडेलले समीक्षा अवधिमा कर्जा प्रवाह र निक्षेप सङ्कलन बढ्न थालेको, सहुलियतपूर्ण कर्जा र पुर्नकर्जाको  प्रगति उत्साहजनक रहेको सार्वजनिक खर्चमा गत वर्षको तुलनामा सामान्य रूपले वृद्धि भएको तथा राजस्व सङ्कलन सुधारोन्मुख रहेको उल्लेख गर्न भयो ।
बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको र राजस्वको लक्ष्य अनुमान गर्दा हालको सङ्कलनको अवस्था र विगतको प्रवृत्तिलाई आधार बनाएको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट कार्यान्वयनको संशोधित कार्य योजना तयार गरी कार्यान्वयन गर्ने, सम्पन्न भएका आयोजनाहरूको दायित्व भुक्तानी गर्न प्राथमिकता दिने, अन्तर्राष्ट्रिय सहायताबाट सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा देखिएका जटिलताहरूको व्यवस्थापन गर्ने, राजस्व सङ्कलनको वैकल्पिक कार्य योजना बनाई राजस्व प्रशासनलाई पूर्ण रुपमा परिचालन गर्ने समेत उल्लेख गर्नु भयो ।
अर्थमन्त्री पौडेलले वैदेशिक सहायता तथा ऋणको शोधभर्नाका लागि सम्बन्धी आयोजना तथा मन्त्रालयहरूलाई जिम्मेवार बनाउने, त्यस्ता स्रोतहरूको अधिकतम परिचालन गर्ने र वैदेशिक सहायताको परिचालनमा देखिएका समस्याहरूको समाधान गर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले चालु खर्चलाई सीमामा राखी बचत भएको रकमलाई निर्वाचनमा खर्च गर्ने गरी स्रोतको  व्यवस्थापन गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button