तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा साताव्यापी सरसफाइ अभियान शुरु

वीरगञ्ज । मुलुकको प्रमुख आर्थिक केन्द्र तथा व्यापारिक नाका वीरगन्जलाई सफा र फोहोर मुक्त बनाउने उद्देश्यले विश्व सफाइ अभियानकर्ताद्वारा आजबाट साताव्यापी सरसफाइ कार्यक्रम शुरु गरिएको छ ।

वीरगञ्ज महानगरपालिका र नगरबासीहरुको चरम लापरबाहीका कारण आर्थिक नगरी फोहोरले दुर्गन्धित भएको छ । जथाभाबी सडकमा फोहोर फाल्ने नगरबासीको प्रवृत्ति र फोहोर गर्नेलाई कारबाही गर्न नसक्ने महानगरपालिकाको लाचारीपनले देशकै प्रमुख शहर वीरगञ्ज सबैभन्दा बढी फोहोर र दुर्गन्धित हुन पुगेको छ ।

नेपालमै सबैभन्दा बढी सरसफाइकर्मी भएको वीरगञ्ज महानगरपालिकामा दिनको दुई पटक फोहोर उठाए पनि नगर क्षेत्र सरसफाइयुक्त हुन नसक्नुमा नगरवासी समेत जिम्मेवार रहेको विश्व सरसफाइ अभियानकर्ता राजमान मानवले बताउनुभयो ।

वीरगन्जको सरसफाइका लागि काठमाडौँबाट आइपुगेको विश्व सरसफाइ अभियानकर्ताहरूले ग्रिन सिटी सामुदायिक केन्द्रसँग सहकार्य गर्दै वीरगन्जलाई सफा बनाउने अभियान शुरु गरेको मानवले बताउनुभयो । अभियान अन्तरगत आज आदर्शनगर क्षेत्रको बृहत् सरसफाइ गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, त्रिलोक चन्द्र दारुका, राकेश अग्रवाल, विश्व सरसफाइ अभियानका संयोजक राजमान मानव, सुशीला महर्जन, दान बहादुर महर्जन, दिलीप महर्जन, कमला महर्जन, लीला महर्जन लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

वीरगन्जलाई वृहत् सरसफाइ गर्दै आम नगरबासीलाई चेतना दिने उद्देश्यले साताव्यापी कार्यक्रमका लागि आफूहरू वीरगञ्ज आएको बताउँदै अभियानका संयोजक राजमान मानवले फोहोरलाई सडकमा फाल्ने होइन, खल्तीमा राख्ने अभियान चलाउन वीरगञ्ज नगरवासीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button