तपाईँ सुन्दै हुनुहुन्छः

कालीमाटी तरकारी बजारमा कृषि मन्त्री अर्यालको छड्के

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नुभएको छ । आज (मङ्गलवार) कालीमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितिको बारेमा जानकारी लिनुभएको हो ।
अनौपचारिक पोसाकमा तरकारी बजार पुग्नुभएकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्ने कार्य तालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिनुभएको छ । केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुग्नुभएकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिनुभएको थियो ।
फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबिच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने समेत बताउनुभयो ।
मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उहाँले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताउनुभयो । बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताउनुभयो ।
उत्पादनलाई बढवा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाई थियो । भोलिका दिनमा जुनसुकै परिस्थिति आउँदा पनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उहाँले किसानलाई मलको अभाव हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ । हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौ । किसानहरूले सहज ढङ्गले मल प्राप्त गर्नुभएको छ ।’
बजारमा अनुगमनका क्रममा कालीमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उहाँले छिट्टै परीक्षण गरी खराब चिजहरूलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्र्याकबाटै काम भएको पाइएको बताउनुभयो ।
यस्तै बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने बताउनुभयो । मन्त्री अर्यालले बजार अनुगमनका क्रममा भन्नुभयो, ‘नेपालमा उत्पादित वस्तुहरूको उत्पादन बढाउन र वस्तु प्रवर्द्धनमा चुनौती रहेको छ । पहिला के भएको थियो त्यो कुरा छाडौँ । अब बजार कसरी व्यवस्थित गर्न सकिन्छ ? व्यापारी र किसानलाई कसरी खुसी पार्न सकिन्छ ? बिचौलियाको अन्त्य कसरी गर्न सकिन्छ ? र कसरी बजारलाई व्यवस्थित गर्न सक्छौ, यसतर्फ छिट्टै हामी निष्कर्ष निकाल्छौँ ।’
तस्बिरहरू : देविका घर्ती मगर

प्रतिक्रिया राख्नुहोस्

Back to top button