तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालय भवन शिलान्यास

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण कार्य अगाडि बढाइएको छ ।
वडा कार्यालय भवनको सोमबार शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले राजनीतिक हिसाबले नभै आवश्यकताको आधारमा विकास गर्ने गरेको बताउनुभयो । उहाँले विकास निर्माणका काममा राजनीति नगरी सबै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भ्याट बाहेक ४५ लाख ३० हजार ९३० रुपैयाँमा ठेक्का सम्झौता भएको र वडा कार्यालय भवन हल सहित ४ कोठे बन्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले विकासका काममा गाउँपालिका तीव्र गतिमा अगाडि बढेको र आँफुहरू जनप्रतिनिधि भएर आएपछि र अघि भएको काम हेरेर मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।
यस्तै, भवनका लागि जग्गा दिनुहुने तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डितले आफू यही ठाउँको भएको र हाल बसाइको सिलसिलामा दुलेगौंडा रहेको भए पनि बुवाका पालादेखि सामाजिक सेवा र भावनाको छाप रही आएको चर्चा गर्दै त्यही मान्यतामा रहेर वडा कार्यालयलाई जग्गा दान गरेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा जग्गा दाता कृष्णराज पण्डित दम्पतीलाई सम्मान गरिएको थियो । उहाँले झन्डै एक करोड पर्ने तीन आना जग्गा भवनका लागि दान गर्नुभएको छ ।
उक्त गाउँपालिका अन्तर्गतका वडामध्ये वडा नं १ र ५ को गत वर्ष टेन्डर गरी निर्माण सम्पन्नको अन्तिम चरणमा रहेका छन् भने वडा नं ४ र ७ को यसअघि नै शिलान्यास भइसकेको छ ।
त्यसै गरी वडा नं २ को वडा कार्यालयले साबिकको गाविस भवनबाट काम प्रवाह गरिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । छ वटा वडामध्ये तीन वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिसकिएको छ भने अन्य तीन वटामा पुरानै स्वास्थ्य भवनबाट सेवा सञ्चालन गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button