तपाईँ सुन्दै हुनुहुन्छः

झापामा अर्बुद रोगी बढ्दै

झापा । झापामा क्यान्सर रोगीको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ । विषादीयुक्त खानेकुरा, असन्तुलित जीवनशैली र बेलैमा उपचारको अभावले क्यान्सर रोग स्वास्थ्य क्षेत्रको ठूलो चुनौती बनेको छ ।

प्रदेश नं १ को पूर्वाञ्चल क्यान्सर अस्पतालमा हरेक दिन ६२ जना क्यान्सरका रोगी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । एक वर्षअघि विर्तामोडमा स्थापना भएको यो अस्पतालमा सोही अवधिमा १८ हजार ४४५ जनाले क्यान्सरकै उपचार गराएका छन् । जसमध्ये दुई हजार ९४५ जना क्यान्सरका नयाँ बिरामी थिए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार एक वर्षको अवधिमा अस्पतालमा ५८० जना क्यान्सरका बिरामीको शल्यक्रिया र ६५४ जनाको रेडियोथेरापी विधिबाट उपचार गरिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले नेपालभरिकै तथ्याङ्कलाई हेर्ने हो भने झापामा सबैभन्दा बढी क्यान्सरका बिरामी रहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ, भक्तपुर, चितवन र भारतका विभिन्न शहरमा उपचारमा जाने क्यान्सरका बिरामीहरुमा झापाकै धेरै भएको बताउनुभयो । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा देशभरिकै जिल्लाबाट बिरामी आउने गरेको जानकारी दिँदै झापामा बढिरहेको क्यान्सर सङ्क्रमण न्यूनीकरणका लागि व्यापक जनचेतना अभियानको जरुरत रहेको बताउनुभयो ।

गत एक वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आएका दुई हजार ९४५ जना नयाँ बिमारीमध्ये आधा झापाकै छन् । अस्पतालकाअनुसार सो अवधिमा एक हजार ४६२ जना क्यान्सरको उपचारका लागि आएका नयाँ बिरामी झापाकै थिए । मोरङबाट ४३१ र सुनसरीबाट २९६ जना नयाँ बिरामीले क्यान्सरको उपचार लिएका छन् । “क्यान्सरका जति बिरामीहरु आउनुहुन्छ, तीमध्ये धेरैजसो महिला र त्यसमा पनि स्तन क्यान्सरका बिरामी हुनुहुन्छ”, डा यादवले भन्नुभयो, “विषादीयुक्त खानपान, चुरोट–मदिराको सेवन र बेलैमा स्वास्थ्य परीक्षण नगराउने आदतले गर्दा क्यान्सर फैलिरहेको छ ।”

उहाँ कार्यरत रहेको अस्पतालले एक वर्षमा १४९ को स्तन क्यान्सर, १०७ फोक्सो क्यान्सर र ८४ पाठेघरको मुखको क्यान्सरको उपचार गरेको छ । पाठेघरको मुख, डिम्बाशय र स्तन क्यान्सर महिलालाई लाग्ने रोग हो । नेपालमा हरेक वर्ष ३५ हजार क्यान्सरका नयाँ रोगी थपिने गरेका छन् । सरकारले विपन्न बिमारीका लागि उपचारमा सहायता पु¥याउन कोष खडा गरी एकपटकका लागि स्थानीय तहको सिफारिसमा रु एक लाखको उपचार सहयोग गर्दै आएको छ ।

झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालसहित नेपालमा क्यान्सर अस्पतालको सङ्ख्या पाँचमात्र छ । क्यान्सरको उपचार प्रदान गर्ने स्वास्थ्य संस्थाको सङ्ख्या १२ छ भने मुलुकभरिमा क्यान्सर रोग विशेषज्ञको सङ्ख्या ६० मात्र छ । आर्थिक वर्ष २०७६÷७७ मा झापामा एक हजार ३२१ जना क्यान्सरका बिरामीले जनही रु एक लाखको विपन्न कोषबाट उपचार सहायता लिएका छन् । बिरामीले एकपटक मात्र यस्तो सहायता पाउँछन् । उक्त अवधिमा झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न उपचार कोष लागू भएको थिए । सो अस्पतालमा उपचार गराएका एक हजार ४६२ र अन्य अस्पतालमा उपचार गराउँदा सहयोग पाएकाहरुको सङ्ख्या जोड्दा झापामा गत वर्ष दुई हजार ७८३ जना क्यान्सरका नयाँ बिरामीको पहिचान भएको देखिन्छ । मुलुकबाहिर गएर उपचार गराउनेको सङ्ख्या यहाँ सामेल छैन ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईं झापामा क्यान्सर रोगको सङ्क्रमण भयावहरुपमा फैलिरहेको बताउनुहुन्छ । रोग लागेर उपचार गर्न धेरै धनराशि खर्च गर्नुभन्दा रोग लाग्नै नदिने रोकथामको उपायमा लाग्नु राम्रो हुने उहाँको धारणा छ ।

चुरोट र मदिराको अत्यधिक सेवनले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुने र खैनी र गुट्खा खाँदा मुखको क्यान्सरको जोखिम हुने क्यान्सर रोग विशेषज्ञ डा वीरेन्द्र यादवले बताउनुभयो । खानपान र व्यायाममा ध्यान दिने हो र तनावबाट मुक्त रहने हो भने क्यान्सरको मात्र होइन, धेरै प्रकारका रोग लाग्नबाट जोगिन सकिने उहाँको सुझाव छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button